Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘आशिकी २’ होइन ‘सानो मन’ : निर्देशक गुरुङ

फिल्मीखबर, काठमाण्डौ, 2019/07/08
यही शुक्रबार (असार २७) बाट मुलुकभर प्रदर्शनमा आउन लागेको अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्के स्टारर फिल्म ‘सानो मन’ लाई सुयोग गुरुङले निर्देशन गरेका हुन् । उनको यो डेब्यू निर्देशित फिल्म हो । २ करोडको आसपासमा निर्माण भएको फिल्मले घरेलु बजारमा राम्रो व्यापार गर्ने अनुमान गरिएको छ । दर्शकले फिल्मको गीतसंगीत र ट्रेलरलाई निकै रुचाएका छन् । 
 
‘सानो मन’ को ट्रेलर रिलिज भएपछि धेरैले आदित्य राय कपुर र ऋद्धा कपूर स्टारर बलिउडको सुपरहिट फिल्म ‘आशिकी २’ को नेपाली अनुवाद रहेको प्रतिक्रिया जनाएका छन् । यसको पहिलो कारण, दुबै म्यूजिकल लभस्टोरी फिल्म हुन् । दोस्रो, दुबैमा लिड अभिनेत्री गायिकाको भूमिकामा छन् । ‘आशिकी २’ मा ऋद्धालाई गायिका बनाउन आदित्यले गरेको संघर्ष देखाइएको थियो । यसमा आदित्य पनि गायकको भूमिकामा थिए । 
 
‘सानो मन’ मा शिल्पालाई गायिका बनाउन आयुष्मानले सपोर्ट गरेका छन्, जुन ट्रेलरमार्फत् प्रस्ट्याइएको छ । यो फिल्मको ट्रेलरको कमेन्टमा ‘आशिकी २’ बाट प्रभावित भएर बनेको प्रतिक्रिया थुप्रै छ । तर, यसको खण्डन गर्छन् निर्देशक सुयोग । फिल्ममा अभिनेत्री गायिकाको भूमिकामा हुँदैमा ‘आशिकी २’ भन्न नमिल्ने उनको तर्क छ । उनले कुनै विदेशी फिल्मबाट प्रभावित भएर ‘सानो मन’ नबनेको ठोकुवा गरे । 
 
 
‘केटी गाउने अनि केटाले सपोर्ट गर्दैमा ‘आशिकी २’ भन्न मिल्दैन’, एक भेटमा फिल्मको ट्रेलरमा आएका कमेन्टको जवाफ दिँदै उनले भने, ‘अहिले हामीसँग बनाउनका लागि नयाँ कथा नै छैन । सेक्सपियरकै पालामै सबै कन्टेन्टमा भ्याइसक्यो । लभ, रोमान्स, ब्रेकअप, सेक्स, रिभेञ्ज सबै कथामा फिल्म बनिसकेको छ । अब हामीले के बनाउने ?’ कहीँ कतैबाट प्रभावित भएर फिल्म नबनाए पनि कतै न कतै मिल्न जाने उनको भनाई छ । 
 
उनी ‘सानो मन’ लाई म्यूजिकल जर्नी फिल्म भन्न चाहन्छन् । ‘‘आशिकी २’ बाट प्रभावित भएर फिल्म बनाएका होइनौं तर म्यूजिकल लभस्टोरी फिल्म भएपछि केही मिल्नु स्वभाविक हो । प्रायः लभस्टोरी फिल्म मिलन र विछोडमै केन्द्रित हुन्छ । ‘सानो मन’ मा भने हामीले साथीबीचको सम्बन्ध, आमा-बुबा र सन्तानबीचको सम्बन्धलाई पनि उठाएका छौं’’, उनले भने । फिल्मको मूल कथा सानिया (शिल्पा) को वरिपरि घुमेको उनले बताए । 
 
डेब्यू फिल्मबाट निकै आशावादी निर्देशक गुरुङ ‘सानो मन’ को पहिलो रोजाइ नै आयुष्मान र शिल्पा रहेको बताउँछन् । ‘नेपालमा कलाकारहरुको कमी छैन तर जुन हिसाबले नेपाली फिल्म बनिरहेका छन् र मार्केट बनिरहेको छ त्यो अनुपातमा कलाकारहरु आइरहेका छैनन् । चाइल्ड आर्टिस्ट लिनु पर्‍यो भने हजारपटक सोच्नु पर्छ । ‘सानो मन’ मा पनि बाल कलाकारको भूमिका थियो । तर, कति पुरानै दोहोर्‍याउने भनेरै रोलै हटाएँ’, उनी सुनिए । 
 
आयुष्मान र शिल्पालाई फिल्ममा लिनुको कारणबारे प्रस्ट्याउँदै निर्देशक गुरुङ भन्छन्, ‘हामी फिल्ममा कलाकारको लुक्स महत्त्वपूर्ण हुँदैन भन्छौं तर लुक्स एकदमै महत्त्वपूर्ण हुन्छ । हामीले अपरिचित मान्छेसँग भेट गर्‍यौं भने लुक्स हेरेरै 'जज' गर्छौं । यो फिल्ममा मलाई चार्मिङ र इनोसेन्ट लुक्स भएको कलाकार चाहिएको थियो । आयुष्मानको लुक्स फिल्मको क्यारेक्टरसँग ठ्याक्कै म्याच गर्‍यो । शिल्पासँग भने स्क्रिप्टको बेलादेखि नै कुरा भएको थियो ।’ 
 
यो फिल्ममा गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्ट, देव कुमार श्रेष्ठ लगायतका कलाकारहरुको पनि अभिनय छ । आलोक शुक्लले छायांकन गरेको यस फिल्मका निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर हुन् । समिर सुनवार र निर्देशक गुरुङको संयुक्त लेखन छ । ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा यो फिल्म निर्माण भएको हो । 
 
ट्रेलर हेर्नुहोस् :-

Most Visited News (monthly)