रगतको नाताले हाम्रो परिवार बन्छ । तर, मित्रता एउटा त्यस्तो बरदान हो, जो सबै किसिमको नाताभन्दा माथि हुन्छ । यसकारण नै भनिएको हुनसक्छ, 'इमान्दार तथा विना स्वार्थ साथ दिने साथीले जीवनलाई सम्पूर्णतामा बदल्न सक्छ ।' महाभारतमा कृष्णजी र सुदमाको आदर्श कथाले पनि मित्रताको महत्त्व दर्शाउँछ । साथीको अर्थ आफैंमा वृहत र आयमित छ ।
मानिसको जीवनमा साथी नै त्यस्तो व्यक्ति हुन्छ, जोसँग मनका सबै कुरा निर्धक्क भन्न सकिन्छ । साथी नै हो, जसलाई आफ्नो भन्न सकिन्छ । साथी नै त्यस्तो व्यक्ति हो, जो तपाईंको सुःख र दुःख दुबैमा साथ दिन्छ । असल साथी त्यही हुन्छ, जसले जुनसुकै परिस्थितिमा पनि साथ छाड्दैन । त्यसैले होला गायक सुगम पोखरेलले गाएका छन्, 'सबैभन्दा माथि छ, मेरो एउटा साथी छ ।'
अभिनेत्री द्वय पूजा शर्मा र वर्षा राउतको मित्रता कति स्वार्थरहीत र सबै किसिमको नाताभन्दा माथि छ ? त्यो उनीहरुलाई नै थाहा होला । तर, पछिल्लो केही समययता दुईको आत्मीयता भने गजबकै देखिएको छ । फिल्मवृतमा दुईलाई एकअर्काको प्रतिस्पर्धी भन्ने गरिन्छ । तर, वर्षा र पूजाको मित्रतामा त्यसको गन्ध अहिलेसम्म देखिएको छैन । दुबै एकअर्कासँग 'टाइम स्पेन्ड' गर्न पाउँदा खुबै रमाउँछन् ।

पूजा शर्मालाई मित्रता र दुश्मनी दुबै राम्रोसँग निभाउने आउने अभिनेत्री भन्ने गरिन्छ । नेपाली फिल्म क्षेत्रमा उनको कट्टर दुश्मन र घनिष्ट मित्र दुबै छन् । 'प्रेमगीत' पछि करिअर पछाडि फर्किएर नहेरेकी उनको केही वर्ष अगाडिसम्म अभिनेत्री आँचल शर्मासँग लोभलाग्दो मित्रता स्थापित भएको थियो । तर, आँचलको एक स्टाटसपछि दुईको मित्रताको डोरी चुँडियो । पुनः गाँसिने सम्भावना अत्यन्त न्यून छ ।
आँचलपछि उनी अभिनेत्री शिल्पा पोखरेलसँग निकै नजिक देखिएकी थिइन् । उनीहरु सँगै मिडियामा अन्तर्वार्ता दिनेदेखि सँगै फिल्म हेर्न जाने गर्दथे । पूजाले त शिल्पाको आफू फ्यान नै भनेकी थिइन् । तर, अचेल दुईलाई एकसाथ देखिन छाडेको छ । सम्बन्ध विग्रिएर हो वा व्यस्तताले ? यसको जवाफ त उनीहरुसँगै होला । तर, आजभोली वर्षासँग पूजाको दोस्तीयारी बढेको छ । यो देखावटी हो वा वास्तविक ? छुट्याउन कहाँ सजिलो छ र !
शनिबार साँझ पाँचतारे होटल सोल्टीको काखैमा रहेको प्राइभ नेपालको हलमा फिल्म 'जात्रै जात्रा' को ५१ दिने सक्सेस पार्टी थियो । जहाँ नेपाली फिल्मका थुप्रै परिचित अनुहारहरु उपस्थिति थिए । अभिनेत्री पूजा छुट्ने त कुरै भएन, वर्षाले बोलाएकी जो थिइन् । पूजाले वर्षालाई अंकमाल गरेर फिल्मको सफलताको बधाई दिइन् । साँझ करीब साढे १० बजेसम्म दुबै स्वदेशी र विदेशी गीतको तालमा झुमेका थिए । त्यहाँ देखिएको दुईको आत्मीयताले धेरैको ध्यान खिचेको थियो ।
नेपाली कलाकारहरुको सम्बन्ध क्षणभरमै टु्ट्ने र जोडिने गरेका छन् । अझ, अभिनेत्रीबीच राम्रो सम्बन्ध स्थापित भएको एउटा गतिलो उदाहरण भेट्न पनि मुश्किल पर्छ । यहाँ देखावटी र वास्तविक दुई सम्बन्ध बनेका हुन्छन् । मिडियासामु घनिष्ट मित्र तर बाहिर कट्टर दुश्मन । वर्षा र पूजाको सम्बन्ध कस्तो हो ? बिस्तारै खुल्दै जानेछ । आशा गरौं, दुईको मित्रताको गाँठो कहिल्यै चुँडिने छैन । दर्शकको चाहना पनि यही हो ।

