
बलिउड अभिनेता शाहिद कपूर र अभिनेत्री कियारा आडवानीको प्रमुख भूमिका रहेको फिल्म ‘कबीर सिंह’ ले बक्सअफिसमा गएको दुई हप्तादेख धूम मच्चाइरहेको छ । फिल्म शुक्रबारबाट तेस्रो हप्तामा प्रदर्शनरत छ । भारतसँगै यसले नेपालमा पनि जबरजस्त व्यापार गरिरहेको छ । यो रफ्तारमा अझै कम हुने छाँटकाट देखिएको छैन ।
प्रदर्शनको पहिलो दिनदेखि लोभलाग्दो व्यापार गरिरहेको फिल्मले तेस्रो हप्ताको शनिबार पनि एक नयाँ रेकर्ड बनाएको छ । फिल्म समीक्षक तरण आदर्शका अनुसार फिल्मको कमाई २ सय २६ करोड ११ लाख पुगेको छ । यो आँकडा हासिल गर्न 'उरी : द सर्जिकल स्ट्राइक' लाई ३८ दिन लागेको थियो । ‘कबीर सिंह’ ले १६ दिनमै यो आँकडा पार गर्यो ।
फिल्मले बलिउड सुपरस्टार सलमान खान अभिनीत फिल्म ‘भारत’ लाई समेत कलेक्सनमा उछिनेको छ । यस वर्षको इदमा रिलिज भएको सलमानको यो फिल्मको लाइफटाइम कलेक्सन २ सय १० करोडको आसपास छ । अब, ‘कबीर सिंह’ तीन सय करोेडको दौडमा छ । यो फिल्मको सफलतासँगै अभिनेता शाहिदको चर्चा निकै चुलिएको छ ।
‘कबीर सिंह’ साउथ सुपरस्टार विजय देवरकोन्डाको हिट फिल्म 'अर्जुन रेड्डी' को हिन्दी रिमेक हो । तेलुगूमा यो फिल्मलाई सन्दिप वांगा रेड्डीले निर्देशन गरेका हुन् । फिल्मको हिन्दी रिमेकको निर्देशक पनि उनी स्वयं हुन् । शाहिदको जबरजस्त अभिनय रहेको यसमा सोहम मजूमदार, अर्जन बाजवा, सुरेश ओबेरोय, कामिनी कौशल र निकिता दत्ताको पनि अभिनय छ ।

