Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

माझी बस्ती निर्माणलाई ‘जात्रै जात्रा’ को एक लाख सहयोग (फोटोफिचर)

फिल्मीखबर, काठमाण्डौ, 2019/07/07
शनिबार (हिजो) राजधानीका सातवटा सिंगल र मल्टीप्लेक्समा प्रदर्शनको ५१ दिने यात्रा पार गरेको फिल्म ‘जात्रै जात्रा’ को टिमले पूर्व घोषणा गरेअनुरुप सिन्धुपाल्चोकमा एकीकृत माझी बस्ती निर्माणका लागि श्वेता श्री फाउण्डेशनलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । शनिबार साँझ राजधानीमा फिल्मको ५१ दिने सफलताको पार्टीमा निर्माण टिमले १ लाख ११ हजार १ सय ११ रुपैयाँको चेक अभिनेत्री श्वेता खड्कालाई प्रदान गर्‍यो । 
 
 
 
 
 
 
फिल्मको प्रचारको क्रममा अभिनेता विपिन कार्की र दयाहाङ राई टेलिभिजन कार्यक्रम को बन्छ करोेडपति ? मा पुगेका थिए । त्यहाँ जितेको सम्पूर्ण रकम श्वेता श्री फाउण्डेशनलाई प्रदान गर्ने निर्माण टिमले घोषणा गरेको थियो । तर, केबीसीमा विपिन र दयाहाङले १० हजारभन्दा बढी जित्न सकेनन् । त्यसमा निर्माण टिमले एक लाख १ हजार १ सय ११ थप गरेर फाउण्डेशनलाई हस्तान्तरण गरेको हो । 
 
‘जात्रै जात्रा’ ले प्रदर्शनको ५१ दिने सफलतापूर्वक मनाउन सफल भएको अवसरमा आयोजित कार्यक्रममा फिल्मका कलाकार, निर्देशक, निर्माता, प्राविधिक, वितरक, हल सञ्चालक र पत्रकारलाई कदर पत्र प्रदान गरिएकोे थियो । फिल्मको सफलतामा खुसीयाली मनाउन हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, किरण केसी, हरिवंश आचार्य, पूजा शर्मा, दीपकराज गिरी, दीपाश्री निरौला, सन्दिप क्षेत्रीलगायत थुपै फिल्मकर्मीहरु पुगेका थिए । 
 
 
 
 
 
 
फिल्मको ५१ दिने सेलिब्रेसनमा वितरक कम्पनी एफडीले निर्देशक प्रदीप भट्टराई र निर्माण कम्पनीलाई सम्मान गरेको थियो । निर्माण टिमले पनि निर्देशक भट्टराईलाई ह्याट्रिकको बधाईसहित उनको फोटो अंकित ठूलो फ्रेम प्रदान गर्यो, जहाँ ५१ दिन मनाएका उनी निर्देशित तीन फिल्म 'जात्रा', 'शत्रु गते' र 'जात्रै जात्रा' को नाम लेखिएको थियो । उक्त फ्रेम प्रदान गर्दै बरिष्ठ कलाकार हरिवंश आचार्यले प्रदीप मह सञ्चारको खम्बा रहेको बताए । 
 
लामो समय मह सञ्चारले निर्माण गर्ने टेलिसिरियलमा सहायक र पूर्ण निर्देशक भएर आफूलाई निर्देशकको रुपमा निखारेका प्रदीप नेपाली फिल्म क्षेत्रका चम्किला नक्षत्र हुन् । आफ्नै लेखन र निर्देशन रहेको तीन फिल्मले हलमा ५१ दिने मनाउने उनी नेपाली फिल्मका पहिला निर्देशक हुन् । उनले ‘जात्रै जात्रा’ सफल बनाउन साथ दिने सबै सहयोगी हातहरुलाई धन्यवाद दिए । प्रदीपले चाँडै नयाँ फिल्मको घोषणा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । 
 
 
 
 
 
 
एक्यूएफएक्स चेन, बिग मुभिज, अष्टनारायण, एफक्यूब, गुण सिनेमा, गोपी र विएसआर मुभिजमा यो फिल्मले ५१ दिने यात्रा सफलतापूर्वक पार गरेको हो । मोफसलतर्फ भने फिल्मले कुनै हलमा ५१ दिन मनाउन सकेन । ‘जात्रै जात्रा’ मा विपिन कार्की, दयाहाङ राई, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, वर्षा राउतलगायतका कलाकारहरुको अभिनय छ । फिल्मले घरेलु बजारबाट साढे ९ करोडको व्यापार गरेको जानकारी प्राप्त छ । 
Most Visited News (monthly)