डेढ दशक अगाडिसम्म नेपाली फिल्मका लागि हलमा प्रदर्शनको ५१औं र सय दिन सामान्य हुन्थे । डिजिटल युगको आरम्भसँगै हलमा नेपाली फिल्मलाई एक हप्ता टिक्न पनि हम्मेहम्मे पर्ने गरेको छ । फिल्मको सफलताको मानक मानिने ५१ र सय दिने पछिल्लो केही वर्षयता लोप हुँदै गएको छ । यद्यपि, वर्षमा एक वा दुई फिल्मले भने जसोतसो प्रदर्शनको ५१ दिने पार गर्ने गरेका छन् । गत वर्ष 'छक्का पञ्जा ३', 'जय भोले' र 'ए मेरो हजुर ३' ले यो यात्रा पार गरेका थिए ।
यस वर्षको बैशाखमा प्रदर्शनमा आएको फिल्म 'दाल भात तरकारी' ले पनि तीन सिंगल थिएटरमा ५१औं दिन मनायो । भलै, फिल्म फिक्समा दिइएको थियो । यसबीच, गएको जेठ ३ गतेबाट हलमा प्रदर्शन आरम्भ गरेको प्रदीप भट्टराई निर्देशित फिल्म ‘जात्रै जात्रा’ ले पनि शनिबार आज ५१ दिने यात्रा पूरा गरेको छ । दश किलो सुनको कथामा आधारित यो फिल्मले राजधानीमा ७ वटा हल (सिंगल र मल्टीप्लेक्स) मा प्रदर्शनको ५१ दिन मनाएको हो ।
फिल्मका निर्माता तथा कलाकार रविन्द्रसिंह बानियाँका अनुसार एक्यूएफएक्स चेन, बिग मुभिज, अष्टनारायण, एफक्यूब, गुण सिनेमा, गोपी र विएसआर मुभिजमा फिल्मले ५१ दिने यात्रा सफलतापूर्वक पार गरेको हो । मोफसलतर्फ भने फिल्मले कुनै हलमा ५१ दिन मनाउन सकेन । शनिबार निर्माण टिमले राजधानीका विभिन्न हल पुगेर दर्शकलाई धन्यवाद दिँदैछ । भने, साँझ एक भब्य कार्यक्रमका बीच फिल्मको सफलताको खुसी साटासाट गर्दैछ ।
.jpg)
‘जात्रै जात्रा’ यस वर्षको सबैभन्दा धेरै मुनाफा कमाउने फिल्मको सूचीमा सुचिकृत भएको छ । फिल्मले प्रदर्शनको ५१ दिनसम्ममा घरेलु बजारबाट साढे ९ करोडको ग्रस कलेक्सन गरेको अनुमान गरिएको छ । यद्यपि, यसबारेमा निर्माण टिमले कुनै जानकारी दिएको छ । फिल्मको सफलताबाट निर्देशक, निर्मातादेखि कलाकार सबै खुसी छन् । यो फिल्मको पहिलो पार्टले पनि हलमा ५१ दिने यात्रा पार गरेको थियो ।
समीक्षात्मक र व्यावसायिक दुबै सफलता चुमेको यस फिल्मबाट निर्देशक भट्टराईले ह्याट्रिक गरेका छन् । यसअघि उनी निर्देशित फिल्म 'जात्रा' र 'शत्रु गते' ले पनि बक्सअफिसमा बम्पर व्यापारसँगै हलमा ५१ दिन मनाएका थिए । नेपालमा निकै कम निर्देशक छन्, जसको तीन फिल्मले 'ब्याक टू ब्याक' ब्लकबस्टर व्यापारसँगै हलमा ५१ दिन मनाएका हुन् । निर्देशक भट्टराई ‘जात्रै जात्रा’ सफल बनाउन सहयोग गर्ने दर्शकलाई धन्यवाद व्यक्त गरेका छन् ।
‘जात्रै जात्रा’ मा विपिन कार्की, दयाहाङ राई, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, वर्षा राउतलगायतका कलाकारहरुको अभिनय छ । गीतसंगीत र ट्रेलरले निर्माण गरेको हाइप र स्टारकास्टका कारण फिल्मको इनिसियल बक्सअफिस आक्रामक रहेको थियो । कुनै नेपाली ठूला फिल्म रिलिज नहुनु र आशा गरिएका विदेशी फिल्मले पनि राम्रो व्यापार नगर्दा यो फिल्मलाई गजबकै फाइदा भयो । फिल्मले प्रदर्शंनको तीन हप्तासम्म बक्सअफिसमा जबरजस्त व्यापार गरेको थियो ।

