Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

केकीलाई ‘कन्ट्रोभर्सी’ को लोभ, ऋचाले पूरा गर्लिन् ?

फिल्मीखबर, काठमाण्डौ, 2019/07/06
फिल्म क्षेत्रमा रमाइरहेका जो कोही आफ्नो चर्चामा कमी नहोस् भन्ने चाहन्छन् । यहाँ चर्चा हुन छाड्यो भने गुमनाम हुने डर हुन्छ । यसैले त कलाकारहरु बरु बदनाम हुन तयार हुन्छन् तर गुमनाम सहन सक्दैनन् । नेपाली फिल्म क्षेत्रमा यस्ता धेरै सेलिब्रेटी छन्, जो चर्चाकै भरमा आफूतिर मिडिया र दर्शकको ध्यान आकर्षित गरिरहेका हुन्छन् । अभिनेत्री आँचल शर्माले त मुखै फोडेर भनेकी थिइन्, ‘जसरी होस् चर्चा होस् ।’
 
यो सिद्धान्त धेरै कलाकारको हकमा लागू हुन्छ । तर, केही नेपाली कलाकारहरु ‘कन्ट्रोभर्सी’ बाट टाढै रहन चाहन्छन् । जिन्दगीमा ‘कन्ट्रोभर्सी’ को दाग लगाउन चाहँदैनन् । अभिनयको भरमा आफू चल्न चाहन्छन् । केकी अधिकारी यो लिस्टमा पर्ने अभिनेत्री हुन् । उनको एक दशक लामो फिल्मी करिअर खासै विवादित रहेन । यसैले उनलाई नेपाली फिल्मकी 'भलाद्मी अभिनेत्री' पनि भन्ने गरिन्छ । उनी आफ्नो अभिनयको चर्चा होस् भन्ने चाहन्छिन् । 
 
तर, धेरै अभिनेत्रीहरु ‘कन्ट्रोभर्सी’ को सहाराले मिडियाको लाइमलाइटमा परिरहँदा अब केकीलाई पनि यो लोभ पलाउन थालेको छ । गत वर्ष उनले पहिलो पटक फिल्म 'कोहलपुर एक्सप्रेस' निर्माण गरिन् । फिल्मलाई चोरीको बात लाग्यो । दक्षिण भारतीय फिल्म 'मुम्बई एक्सप्रेस' को हुबहु कपी गरेर फिल्म बनाइएको थियो । 'फोटोकपी फिल्म' बनाएको भन्दै केकीको चर्को आलोचना भयो । उनको स्वच्छ छविमा ‘चोरी’ को दाग लाग्यो । 
 
 
अब उनी यो दाग मेटाउन चाहन्छिन् । दोस्रो फिल्मको तयारीमा रहेकी केकीले ‘चोरी’ को दाग मेट्न सानो पर्दाका लागि 'कमेडी च्याम्पियन' नामक शो ल्याउँदैछिन् । यसमा उनी निर्मात्रीको रुपमा छिन् । यो शो कतैबाट चोरेर बन्न नलागेको उनले स्पष्ट पारेकी छन् । तर, उनी शोको बजारमा राम्रै चर्चा होस् भन्ने चाहन्छिन् । यसका लागि उनले ‘कन्ट्रोभर्सी’ चाहेकी छन् । उनले आफू निर्माता भएका कारण शोको केही ‘कन्ट्रोभर्सी’ पनि होस् भन्ने चाहेको बताइन् । 
 
शोको घोषणा सभामा उनले भनिन्, ‘हामीले तीनवटा ‘सि’ लाई एकदम महत्त्वमा राखेर यो शो बनाउँदैछौं । पहिलो ‘सि’, कमेडी हुनेछ । दोस्रो ‘सि’, म निर्माताको रुपमा अगाडि आएका कारण अलि अलि ‘कन्ट्रोभर्सी’ पनि चाहन्छु । यसका लागि हामीले ‘कन्ट्रोभर्सी क्विन’ हरुलाई पनि राखेका छौं । तेस्रो ‘सि’ भनेको कन्फर्ट हो । कसैलाई चोट नपुग्ने ढंगले यो शोमा कमेडी गर्नेछौं ।’ उनले शोको ‘कन्ट्रोभर्सी’ को लोभ रहेको बताएपछि निर्णायकमा रहेको हास्यकलाकार मनोज गजुरेलले असन्तुष्टि जनाए । 
 
उनले ‘सि’ बाट ‘कन्ट्रोभर्सी’ नभएर ‘कमर्शियल’ बनाउन सुझाव दिए । गजुरेलको भनाईपछि केकीले बोली फेरिन् र भनिन्, ‘हामीले कमर्शियल ‘कन्ट्रोभर्सी’ नै चाहेका हौं ।’ तर, उनले शोको ‘कन्ट्रोभर्सी’ का लागि निर्णायकमा अभिनेत्री ऋचा शर्मालाई लिएको घुमाउरो शैलीमा अभिव्यक्ति दिएकी थिइन् । यसको अर्थ, उनले शोको सक्दो ‘कन्ट्रोभर्सी’ चाहेको बुझ्न गाह्रो पर्दैन । केकीको इच्छा ऋचाले पूरा गर्लिन् त ? हेर्न रोचक हुने देखिन्छ । 
Most Visited News (monthly)