Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नीर शाहको दुखेसोः ‘दोलखा फिल्म सिटी सेकुवा खाने ठाउँ भयो’

फिल्मीखबर, काठमाण्डौ, 2019/07/05
दोलखाको डाङडुगे डाँडामा फिल्म सिटी निर्माण गर्न नेपाल सरकार र चलचित्र विकास बोर्ड लागिपरेको एक दशक भइसकेको छ । तर, अहिलेसम्म निर्माण हुन सकेको छैन । चलचित्र विकास बोर्डका तत्कालीन अध्यक्ष गणेश भण्डारीले दोलखामा फिल्म सिटी निर्माण गर्ने घोषणा गरेका थिए । त्यसैअनुरुप तत्कालीन जिल्ला समितिले फिल्म सिटी निर्माणका लागि आवश्यक जमिन उपलब्ध गराउने निर्णय गर्‍यो । 
 
२०७४ फागुन ३ गते काङ्ग्रेस नेतृत्वमा बनेको सरकारका सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले पद गुमेकै दिन फिल्म सिटीको शिलान्यास पनि गरे । उनले अब कुनै पनि हालतमा सरकार फिल्म सिटी निर्माणबाट पछाडि नहट्ने दाबी समेत गरेका थिए । तर, वर्तमान सरकारले दोलखामा फिल्म सिटी बनाउन चासो देखाएको छैन । प्रधानमन्त्री केपी ओली त्यहाँबाट फिल्म सिटी अन्यत्र सार्ने सोचमा रहेको चर्चा छ । 
 
दोलखा फिल्म सिटीमा राज्यको करोडौं लगानी भइसकेको छ । तर, अहिलेसम्म निर्माणको काम सुरु नहुँदा नेपाल सरकारको फिल्म सिटीको अवधारणा गर्भमै तुहिएको टिका-टिप्पणी हुन थालेका छन् । तर, सरकार भने फिल्म सिटी निर्माणलाई थाती राख्दै राजधानीमा नै सुविधा सम्पन्न इन्डोर फिल्म स्टुडियो बनाउन कस्सिएको छ । यसलाई सरकारले बजेटमा नै समावेश गरेको छ । अहिले फिल्म स्टुडियोका लागि जग्गा खोज्ने काम भइरहेको छ । 
 
 
सरकारले दोलखामा निर्माण गर्ने घोषण गरेको फिल्म सिटी अन्योलमा रहँदा नीजि क्षेत्रको लगानीमा ५ अर्ब ९० करोडमा लमजुङमा फिल्म सिटी निर्माण हुँदैछ । यसका लागि सरकारको नाममा रहेको ५ हजार रोजनी जग्गा उपलब्ध गराइएको छ । अबको ५ देखि ७ वर्षमा फिल्म सिटी निर्माण हुने अनुमान गरिएको छ । नेपालको स्काई इन्टरटेन्मेन्ट इन्भेस्टमेन्ट प्रा.लि. र इटालियन कम्पनी वर्ल्ड एरिया होल्डिङ कम्पनीले यसकोे निर्माण गर्न लागेको हो । बुधबार दुई कम्पनीबीच सम्झौता पत्रमा हस्ताक्षर भयो । 
 
यसको घोषणा सभामा बरिष्ठ कलाकार नीर शाहले दोलखामा बन्न लागेको फिल्म सिटी अहिले केही राजनीतिज्ञ, नेपाल सरकारका कर्मचारीहरु र चलचित्रकर्मीहरुको खसी काटेर सेकुवा बनाउने ठाउँ भएकोमा चिन्ता व्यक्त गरे । उनले भने- 'सेकुवा बनाएर खानका लागि त्यहाँका स्थानीय जनताहरुले त्यत्रो जमिन दिएका थिएनन् । त्यहाँ राज्यको ठूलो बजेट लगानी समेत भइसकेको छ । सरकारले फिल्म सिटी बन्न नसक्नुको गाँठो खोल्न जरुरी छ ।' 
 
लमजुङमा निर्माण हुन लागेको फिल्म सिटी नेपाली फिल्म क्षेत्रका लागि कोशेढुंगा साबित हुने बताउँदै उनले भने- 'हुन त हामी धेरै पटक फिल्म सिटी बन्ने भयो । यसबाट हाम्रा प्रोडक्सन भ्यालुहरु बढ्ने भए र अन्तर्राष्ट्रिय बजारमा नेपाली फिल्मले बजार प्राप्त गर्ने भयो भनेर फुर्किएको कयौं घटनाहरु छन् । सयौंमध्ये एक घट्ना त दोलखा फिल्म सिटी नै हो । यही अवस्था लमजुङमा बन्ने 'स्मार्ट फिल्म सिटी' को नहोस् । यो नेपालको इज्जतको सवाल छ ।' 
Most Visited News (monthly)