Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(7 votes, avg 2.57/5.00)
Text size:-
+
-

‘आयो भैरव’ मा सञ्चिताको सम्भावना कति ?

फिल्मीखबर, काठमाण्डौ, 2019/07/05
एक्सन फिल्मका 'ट्रेन्ड सेटर' अभिनेता निखिल उप्रेतीको एक समय नेपाली फिल्ममा राम्रै जगजगि थियो । फिल्म 'पिंजडा' बाट जबरजस्त डेब्यू गरेका उनले आफ्नो करिअरको झण्डै २ दशक लामो यात्रामा २ सयको आसपासमा फिल्म गरे । केहीले निर्मातालाई नराम्रोसँग डुबाए भने प्रायः फिल्मले मालामाल बनाए । एक्सन र रोमान्टिक दुबैखाले भूमिकामा उनी फिट मानिन्छन् । यद्यपि, दर्शक भने उनको एक्सन बढी रुचाउने गर्दछन् । 
 
नयाँ पुस्ताका कलाकारको नेपाली फिल्ममा दबदबा सुरु हुन थालेपछि गएको ७/८ वर्ष अगाडि अभिनेता निखिलको बलियो साम्राज्य डगमगायो । फिल्मले पनि राम्रो व्यापार गर्न छाडे । आर्यन सिग्देल र जीवन लुईंटेलप्रति दर्शक आकर्षित हुन थालेपछि उनले अभिनेत्री सञ्चिता लुईंटेलसँग दोस्रो विवाह गरेर पाँच वर्ष नेपाली फिल्मबाट दूरी बनाए । र, फिल्म 'भैरव' बाट कमब्याक गरे । उनको कमब्याक सफल साबित भयो । 
 
 
तर, निखिलले 'भैरव' पछि आफ्नो साख जोगाउन सकेनन् । गुणस्तरमा भन्दा संख्यात्मक अभिनयमा जोड दिँदा उनका कुनै फिल्मले राम्रो व्यापार गरेनन् । उनको पछिल्लो रिलिज फिल्म 'भिलेन' हो । यो फिल्म त आएको/गएको समेत पत्तो भएन । अब भने उनी करिअरप्रति चिन्तित देखिएका छन् । फिल्म छनोटमा सम्यमित भएका छन् । ‘थोरै गर्ने तर राम्रो गर्ने’ उनले संकल्प लिएका छन् । अहिले उनी 'भैरव' को सिक्वेलको तयारीमा छन् । 
 
फिल्मको नाम 'आयो भैरव' जुराइएको छ । फिल्मको कथा अभिनेता निखिल स्वयंले लेखिरहेका छन् । निर्माण र निर्देशन पनि उनी आफैंले गर्नेछन् । यो फिल्म पनि इमान्दार प्रहरीको कथामा बन्ने बताइएको छ । केही दिनयता फिल्मका लागि आफ्नो अपोजिटमा अभिनेत्रीको खोजीमा छन्, निखिल । फिल्मवृतमा चलेको चर्चालाई आधार मान्ने हो भने फिल्ममा सञ्चिता हुने सम्भावना प्रवल छ । तर, फाइनल भने भएको छैन । 
 
फिल्मका एक सदस्यले फिल्मीखबरसँग फोनवार्तामा भने- 'सञ्चितालाई फिल्ममा अभिनेत्रीको रुपमा लिने कुरा टिमभित्र भएको चाहिँ छ । तर, फाइनल भएको छैन । हामीले अरु पनि हेरिरहेका छौं ।' यो फिल्ममा निखिल र सञ्चिताको जोडी बाँधिएको खण्डमा विवाहपछि पहिलो पटक दुईलाई दर्शकले पर्दामा हेर्न पाउनेछन् । यसअघि दुईले 'मर्यादा' र 'माया त माया हो' मा काम गरेका थिए । फेरि निखिल र सञ्चितालाई पर्दामा भने दर्शक निकै प्रतिक्षामा छन् । 
Most Visited News (monthly)