फिल्मले लगानी पनि उठाउन सकेन भने सबैभन्दा ठूलो घाटा कसलाई हुन्छ ? जवाफ पाउन गाह्रो छैन । खाइनखाई जम्मा गरेको सम्पत्ति क्षणभरमै डुब्दा सबैभन्दा ठूलो घाटा फिल्ममा लगानी गर्ने निर्मातालाई हुन्छ । यसको असर केही हदसम्म फिल्मका कलाकारलाई पनि पर्छ । तर, अभिनय राम्रो भएको खण्डमा कलाकारलाई फिल्मको असफलताले खासै ठूलो असर गर्दैन ।
नेपालमा थुप्रै यस्ता कलाकार छन्, जो फिल्म सुपरफ्लप भएर पनि आफू हिट छन् । यो सूचीमा अग्रणी स्थानमा आउने नाम हो, अभिनेत्री सुपुष्पा भट्ट । उनी अभिनीत पहिलो फिल्म 'रणवीर' गत वर्ष प्रदर्शनमा आएको थियो । तर, फिल्मले पोस्टरको पैसा समेत उठाएन । निर्माताको लगानी बालुवामा पानीसरह भयो । तर, सुपुष्पालाई भने फिल्मको असफलताले कुनै असर गरेन ।
हालै उनले प्रतिष्ठित ब्यानर आमा सरस्ववती मुभिजको फिल्म ‘छ माया छपक्कै’ को छायांकन सकिन् । यसमा उनको प्रमुख भूमिका नभए पनि महत्त्वपूर्ण भूमिका रहेको निर्माण टिमको भनाई छ । धेरै सोलो फिल्म लत्याएर उनी यस फिल्ममा केमियो भूमिका गर्न राजी हुनुले धेरैलाई चकित बनाएको छ । उनी यो फिल्म गर्न राजी हुनुको कारण ब्यानर मान्छिन् ।
.jpg)
मंगलबार छायाँकार हरि हुमागाईंको जन्मदिन सेलिब्रेसन कार्यक्रममा पुगेकी उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै ब्यानर हेरेर ‘छ माया छपक्कै’ गर्न तयार भएको बताइन् । उनी भन्छिन्, ‘ब्यानरसँगै मलाई मेरो भूमिका पनि राम्रो लाग्यो । यति राम्रो ब्यानरको फिल्म उम्काउनु हुन्न भन्ने लागेपछि केही नसोची गर्न तयार भएँ ।’ फिल्ममा आफ्नो भूमिकाले दर्शकलाई निराश नबनाउने उनको दाबी छ ।
फिल्म 'रणवीर' मा उनको अभिनय र सुन्दरताको सबैले प्रशंसा गरेका थिए । तर, फिल्म असफल भएपछि उनी करिअरलाई लिएर निकै चिन्तित भएकी थिइन् । यो कुरा उनी स्वयं धक नमानि बताउँछिन् । उनले भनिन्, ‘डेब्यू फिल्म राम्रो होस् भन्ने सबैको चाहना हुन्छ । तर, 'रणवीर' राम्रोसँग नचलेपछि म करिअरलाई लिएर निकै चिन्तित भएको थिएँ । यद्यपि, हार भने खाएको थिइनँ ।’
डेब्यू फिल्मपछि उनलाई थुप्रै फिल्मबाट अफर आइरहेका छन् । केही भोजपुरी फिल्मको अफर पनि आए । तर, उनले कुनै साइन गरेकी छैनन् । उनलाई अभिनेता रमित ढुंगानाको फिल्म 'राजा साहेब' बाट पनि अफर भएको थियो । तर, रिजेक्ट गरिन् । 'रणवीर' को असफलताले आफू फिल्म छनोटमा सम्यमित भएको उनको भनाई छ । 'अब राम्रो टिम र स्क्रिप्ट हेरेर मात्र काम गर्छु', उनले भनिन् ।

