Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

वेब सिरिज निर्माण र निर्देशनमा प्रियंका

फिल्मीखबर, काठमाण्डौ, 2019/07/02
अभिनेत्री प्रियंका कार्कीले छोटो समयमा नै नेपाली फिल्ममा लोभलाग्दो लोकप्रियता हासिल गरिन् । 'थ्रि लभर्स' बाट नेपाली फिल्ममा डेब्यू गरेकी उनलाई एक समय अभिनेत्री रेखा थापापछि 'नायिकाको स्टारडमको भ्याकुम' पूरा गर्ने अभिनेत्रीको रुपमा हेरिएको थियो । तर, उनले आफूलाई जोगाएर अगाडि बढ्न सकिनन् । गुणस्तरमा भन्दा संख्यात्मक अभिनयमा जोड दिँदा उनको करिअर जुन गतिमा उक्लियो त्यही गतिमा झर्‍यो पनि । 
 
 
एक समय उनलाई आफ्नो काँधमा बोकेर फिल्म चलाउन सक्ने अभिनेत्रीको रुपमा लिइन्थ्यो । तर, अहिले उनलाई लिएपछि दर्शक हलमा नआउने डरले निर्माता/निर्देशकलाई सताउने गरेको छ । सम्झनलायकभन्दा विर्सनलायक फिल्मको संख्या धेरै हुँदा उनको कब्जामा परिसकेको ‘नम्बर वान’ नायिकाको ट्याग पनि फुत्कियो । गएको दुई/चार वर्ष अगाडिसम्म उनलाई लिन निर्माताहरु हानाथाप गर्थे । अहिले कोही नभेटे उनलाई सम्झन्छन् । 
 
सोलो हिरोइन हुँदै सहायक भूमिकामा सीमित हुँँदै गएकी प्रियंका अभिनीत फिल्मलाई लिएर आजभोली दर्शकमा रत्ति चासो देखिन्न । यसको तात्तातो उदाहरण 'प्रेम दिवस' हो । उनी सोलो हिरोइन रहेको पछिल्ला कुनै फिल्म हिट छैनन् । सबैले निर्माता डुबाएका मात्र छन् । कलाकारहरुको भीडभाड रहेको फिल्म गरेर उनी आफ्नो करिअर जेनतेन घिसारिरहेकी छन् । अहिले उनी आयुष्मान देशराज जोशीसँगको प्रेमका कारण चर्चामा छिन् । 
 
अभिनेत्री प्रियंका चाँडै फिल्म निर्माण गर्दैछिन् । साम्तेन भुटियाले फिल्मको निर्देशन गर्दैछन् । यसबीच, उनले आफ्नै निर्माण र निर्देशनमा वेब सिरिज घोषणा गरेकी छन् । अचेल शहरिया युवापुस्तामा वेब सिरिजको राम्रो क्रेज भएका कारण प्रियंकाले ‘जस्ट एनदर लभस्टोरी’ नामक वेब सिरिजको निर्माण र निर्देशन गर्न लागेकी हुन् । सिरिजले समलिंगी प्रेमको कथा भन्छ । प्रियंकाले आफ्नै कम्पनी पिंकलेबल पिक्चर्सबाट यसको निर्माण गर्न लागेकी हुन् । 
 
 
यस सिरिजको पहिलो एपिसोड आगामी गाइजात्रको छेकोमा १६ अगस्टमा सार्वजनिक हुनेछ । १५ देखि १८ मिनेटसम्मका आठवटा एपिसोड सुरुमा निर्माण गर्ने प्रियंकाको लक्ष्य छ । वेब सिरिजमा उनी र अभिनेत्री सृष्टि श्रेष्ठको प्रमुख भूमिका रहनेछ । समलिंगी मुद्दालाई सम्बोधन गर्ने उद्देश्यले सिरिज निर्माण गर्न लागेको प्रियंका बताउँछिन् । उनले वेब सिरिजको घोषणासँगै पोस्टर पनि सार्वजनिक गरेकी छन् । 
Most Visited News (monthly)