Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘गीत’ भन्छिन्, ‘दर्शकको अपेक्षामाथि खरो उत्रनेछु’

फिल्मीखबर, काठमाण्डौ, 2019/07/02
यस वर्षको चैत २८ गतेबाट प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षीत फिल्म ‘प्रेमगीत ३’ का लागि २७ सय बढी युवतीलाई उछिन्दै ‘गीत’ क्यारेक्टरमा अनुबन्ध भएकी क्रिस्टिना गुरुङ खड्काको चर्चा केही दिनयता कुनै सुपरहिट फिल्मकी अभिनेत्रीको भन्दा कम छैन । उनी डेब्यू फिल्म रिलिज नहुँदै शहरिया युवापुस्तामाझ राम्रैसँग चिनिएकी छन् । उनको सुन्दरताले धेरैलाई लोभ्याएको छ । 
 
 
यस फिल्ममा उनले अहिलेका जल्दाबल्दा अभिनेता प्रदीप खड्कासँग रोमान्स गर्दैछिन् । फिल्मका लागि आवेदन दिएका २७ सय युवतीहरुमा प्रायः प्रदीपका क्रेजी फ्यान थिए । उनीसँग रोमान्स गर्ने इच्छा भएकै कारण धेरैले ‘गीत’ क्यारेक्टरका लागि आवेदन दिएका थिए । तर, क्रिस्टिना भने आफूले प्रदीप भएका कारण ‘प्रेमगीत ३’ का लागि आवेदन नदिएको बताउँछिन् । 
 
फिल्मीखबरसँग कुराकानी गर्दै उनले भनिन्, ‘प्रदीप खड्का फिल्ममा हुनुहुन्छ भनेर मैले आवेदन दिएको थिइनँ । मलाई सानैदेखि फिल्ममा काम गर्न 'इन्ट्रेस्ट' थियो । केही फिल्मबाट अफर नआएका पनि होइनन् । तर, मैले राम्रो ब्यानर खोजिरहेको थिएँ । यही क्रममा म अध्ययनका लागि अमेरिका गएँ ।’ प्रदीपको आफू क्रेजी फ्यान नभएको पनि उनको भनाई छ । 
 
 
‘मलाई उहाँको फिल्म मनपर्छ तर क्रेजी फ्यान नै चाहिँ होइन । हो, उहाँसँग काम गर्ने इच्छा भने अवश्य थियो’, उनी अगाडि भन्छिन्, ‘नेपाल रहँदा म खासै धेरै फिल्म हेर्दिन थिएँ । तर, अमेरिका गएपछि भने निरन्तर रुपमा हेर्न थालेँ । ‘प्रेमगीत’ र ‘प्रेमगीत २’ मलाई मनपर्ने फिल्म हो ।’ व्यक्तिगत कामले नेपाल आएको बेला ‘प्रेमगीत ३’ का लागि अडिसन खुलेको जानकारी पाएपछि आफूले आवेदन दिएको उनी बताउँछिन् । 
 
प्लस टुसम्मको अध्ययन नेपालमा नै सकेर अमेरिका गएकी उनी बाल्टिमोर युनिभर्सिटीमा आइटी बिषयमा स्नातक गर्दैछिन् । क्रिस्टिना ‘प्रेमगीत ३’ पछि नेपाली फिल्मलाई निरन्तरता दिने सोचमा छिन् । ‘बल्ल फिल्ममा प्रवेश गर्नका लागि राम्रो ब्यानर पाएँ । अब नेपाली फिल्ममा नै सक्रिय रहने प्रण गरेको छु’, फिल्मीखबरसँगको फोनर्वार्तामा उनी मलिन स्वरमा सुनिइन् । उनी यस फिल्मलाई लिएर निकै उत्साहित छिन् । 
 
पूजा शर्मा र अश्लेषा ठकुरीपछि ‘गीत’ बन्न लागेकी क्रिस्टिना फिल्ममा आफ्नो तर्फबाट शतप्रतिशत दिने प्रयास गर्ने बताउँछिन् । दर्शकको अपेक्षा पूरा गर्न सक्छु जस्तो लाग्छ ? भन्ने प्रश्नमा उनी भन्छिन्, ‘म आफ्नो तर्फबाट उत्कृष्ट दिन कुनै कसर छाड्दिनँ । दर्शकको अपेक्षामाथि खरो उत्रने प्रयास गर्नेछु । दर्शकको अपेक्षा पूरा गर्न कति सफल हुनेछु त्यो त भोलीका दिनमा थाहा होला ।’ 
 
 
‘प्रेमगीत ३’ लाई छेतेन गुरुङ र निर्माता सन्तोष सेनले निर्देशन गर्दैछन् । छेतेन र मन्दिप गौतमले फिल्मको कथा तयार पारेका छन् । ‘प्रेमगीत ३’ पहिलो र दोश्रो संस्करणभन्दा निकै ठुलो स्केलमा निर्माण हुने र नेपाली फिल्म क्षेत्रकै एउटा उदाहरण बन्ने निर्माण पक्षको विश्वास छ । फिल्ममा प्रदीप र क्रिस्टिनाका अलावा शिव श्रेष्ठ, मनिष राउत, सुनिल थापा, अनुभव रेग्मीलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । 
Most Visited News (monthly)