.jpg)
अनुभव सिन्हाको निर्देशनमा बनेको अभिनेता आयुष्मान खुराना स्टारर 'आर्टिकल १५' ले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले भारतीय बजारबाट तीन दिनमा आफ्नो बजेट उठाएको छ । अर्थात् लगानी बराबरको व्यापार गरेको छ । ट्रेड रिपोर्ट्सका अनुसार, यो फिल्म १८ देखि २० करोडमा निर्माण भएको छ ।
'आर्टिकल १५' ले बक्सअफिसमा लागतभन्दा बढी २० करोड ४ लाखको व्यापार गरेको छ । दर्शक र समीक्षक दुबैबाट प्रशंसा मिलेको यो फिल्म बक्सअफिसमा लामो घोडा बन्ने देखिएको छ । फिल्मले बक्सअफिसमा दिनप्रतिदिन व्यापारमा फड्को मारिरहेको छ । यद्यपि, फिल्मको व्यापारमा अभिनेता शाहिद कपूर स्टारर फिल्म 'कबीर सिंह' ले ठूलो असर गरेको छ ।
ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार, पहिलो विकेन्डमा फिल्म 'आर्टिकल १५' को कमाई उल्लेखनीय छ । समाजमा वर्षौदेखि जरा गाडेर बसेको जातीय भेदभावको कथा वाचन गरेको फिल्मले पहिलो दिन ५ करोड २ लाख, दोस्रो दिन ७ करोड २५ लाख र तेस्रो दिन ७ करोड ७७ लाखको व्यापार गरेको छ । फिल्मले भारतबाट मात्र तीन दिनमा कूल २० करोड ४ लाख छापेको छ ।
यसले आयुष्मानको करिअरमा कयौं रेकर्ड समेत दर्ता गराएको छ । यो पहिलो विकेन्डमा सबैभन्दा बढी कमाउने उनको दोस्रो फिल्म बनेको छ । पहिलो नम्बरमा ४५ करोड ५० लाखसहित 'बधाई हो' छ । 'आर्टिकल १५' मा ईशा तलवार, सायनी गुप्ता, कुमुद मिश्रा, मनोज पाहवालगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्ममा आयुष्मान एक आईपीएस अफिसरको भूमिकामा छन् ।

