कन्टेन्टमा ‘एक्सपेरिमेन्ट’ गर्न नडराउने निर्देशक दीपेन्द्र के. खनालले अभिनेता खगेन्द्र लामिछाने अभिनीत फिल्म ‘पशुपतिप्रसाद’ पछि यादगार फिल्म पस्कन सकेका छैनन् । यो फिल्मपछि उनले ‘लभ लभ लभ’, ‘धनपति’ र ‘चंगाचेट’ को क्याप्टेनसिप सम्हाले । तर, यी फिल्मले दर्शकलाई सन्तुष्ट बनाउन सकेनन् । किनभने, उनीबाट दर्शक र समीक्षकले ‘पशुपतिप्रसाद’ भन्दा माथिल्लो स्तरको फिल्मको अपेक्षा राख्दछन् ।
.jpg)
यस वर्ष निर्देशक खनाल फिल्म ‘आमा’ लिएर आउँदैछन् । यसको कथा उनी आफैंले लेखेका हुन् । निर्देशन उनी स्वयंको रहनेछ । फिल्मको छायांकन पनि उनले नै गर्दैछन् । उनले ‘पशुपतिप्रसाद’ भन्दा ‘आमा’ लाई उत्कृष्ट बनाउन आफूले कुनै कसर नछाड्ने बताएका छन् । ‘पशुपतिप्रसाद’ पछि मनमा बस्ने फिल्म आएन भनेर धेरैबाट गुनासो सुनेको छु । ‘आमा’ ले त्यो पूरा गर्छ’, उनले भनेका छन् ।
सोमबार पशुपति मन्दिरमा शुभ मुहूर्त गर्दै यो फिल्मको छायांकन समेत सुरु गरिएको छ । नेपालको पहिलो फिल्म ‘आमा’ नाम सापटी लिएर बन्न लागेको फिल्मले एक आमा र छोरीको भावनात्मक सम्बन्धको कथा भन्नेछ । निर्देशक खनालले एउटा इतिहास बोकेको शिर्षकलाई आफूले हरेक कोणबाट न्याय गर्ने दाबी गरेका छन् । शर्मिला पाण्डेले फिल्मको निर्माण गर्नेछिन् ।
काठमाण्डौ र रामेछापको लोकेशनमा खिचिने फिल्मका सह–निर्मातामा सन्तोष अधिकारी छन् । आउँदो फागुन ९ गते प्रदर्शनमा आउने निश्चित भएको ‘आमा’ मा कलाकार सूर्यमाला खनालले शिर्ष भूमिका अर्थात् आमाको भूमिका निभाउनेछिन् । उनको छोरीको भूमिकामा अभिनेत्री सुरक्षा पन्त छिन् । देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढाको पनि फिल्ममा अभिनय रहनेछ ।
.jpg)
अधिकांश दृश्यमा पानी परेको देखाउनु पर्ने भएकाले फिल्म छायांकन लागि असारको महिना रोजिएको निर्देशक दीपेन्द्रले बताए । फिल्मको गीत भुपेन्द्र खड्काले तयार पारेका छन् । ‘आमा’ नाममा तेस्रो पटक फिल्म बन्न लागेको हो । हीरासिंह खत्रीले वि.सं. २०२० र २०५१ सालमा रेसराज आचार्यले यो नाममा फिल्म बनाएका थिए । निर्देशक खनाल यसअघि बनेका ‘आमा’ भन्दा फरक कथामा फिल्म बन्ने बताउँछन् ।

