नेपाल सरकारले यस वर्षको बजेटमार्फत् फिल्म छायांकनका लागि काठमाडौंमा सुविधा सम्पन्न इन्डोर फिल्म स्टुडियो निर्माण गर्ने घोषणा गरेको छ । तर, यसका लागि सरकारले बजेट विनियोजन गरेको छैन । न त काठमाडौंमा कहाँ निर्माण गर्ने भन्ने नै टुंगो लागेको छ । सरकारले जग्गा खोज्ने जिम्मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई दिएको छ । मन्त्रालयले भने स्टुडियो बनाउनका लागि उपयुक्त जग्गा खोज्ने जिम्मेवारी चलचित्र विकास बोर्डलाई सम्पेको छ ।
नेपाली फिल्मको प्रवद्र्धनका लागि नेपाल सरकारले वर्षौअघि बालाजु औद्योगिक क्षेत्रमा रहेको एनएफडिसीको नाममा २७ रोपनी जग्गा उपलब्ध गराएको थियो । तर, यो जग्गा अहिले खुम्चिएर ६.७५ रोपनीमा आइपुगेको छ । सरकारले काठमाडौंमा सुविधा सम्पन्न फिल्म स्टुडियो निर्माण गर्ने घोषणा गरेसँगै चलचित्रकर्मीले एनएफडिसीको नाममा रहेको २७ रोपनी सरकारी जग्गाको बारेमा चासो देखाएका छन् ।
केही हप्ता अगाडि अभिनेत्री करिश्मा मानन्धरले एक स्टाटसमार्फत एनएफडिसीको नाममा रहेको सरकारी जग्गा किनबेच भएकोप्रति चासो व्यक्त गर्दै तत्काल छानबिनको माग गरेकी थिइन् । अन्य चलचित्रकर्मीहरुले पनि एनएफडिसीको वास्तविक जग्गा खोजेर त्यही फिल्म स्टुडियो निर्माण गर्न सरकारसँग माग गरेका छन् । सूचना मन्त्रालयले चलचित्र विकास बोर्डलाई बालाजुको जग्गा खोज्न निर्देशन दिइसकेको छ ।
सोमबार बोर्डको १९औं वार्षिकोत्सवको अवसरमा बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले एनएफडिसीको नाममा रहेको सरकारी जग्गा बेच्नेलाई आफूले कुनै हालतमा नछाड्ने चेतावनी दिएका छन् । ‘त्यो बालाजुको जग्गा खै ? कसले खायो ? अब म हात नहालि छाड्दिनँ’, उनी कड्किए । उनी बालाजुको जग्गा पानी मुनी गए पनि नछाड्ने बताउँछन् ।
‘त्यो सरकारले कुनै व्यक्तिलाई दिएको जग्गा होइन । फिल्म क्षेत्रको प्रवद्र्धनका लागि दिएको जग्गा हो । म सुन्दैछु बालाजुमा रहेको सरकारी जग्गा कुनै व्यक्तिमा नाममा नामसारी भइसक्यो रे ! कसले बेच्यो ? त्यसलाई म कुनै हालतमा छाड्दिनँ । त्यसलाई कारवाही गरेरै छाड्छु’, उनले चेतावनी दिए । उनको भनाईमा कार्यक्रममा उपस्थिति चलचित्रकर्मीहरुले ताली बजाएर समर्थन जनाएका थिए ।
नेपाली फिल्म कुनै पनि हालतमा ६ महिना हलमा चलाउनु पर्ने कानुन सरकारले निर्माण गर्न लागेको र त्यसमा सहयोग गर्न पनि मन्त्री बाँस्कोटाले चलचित्रकर्मीलाई आग्रह गरेका छन् । उनी भन्छन्, ‘हिरो-हिरोइन नराम्रै भए पनि हाम्रै मुलुकका हुन् । अरु देशका कलाकारलाई आदर्श मानेर नेपाली फिल्म क्षेत्रको कहिले विकास हुन्छ ? त्यसैले ६ महिना नेपाली फिल्म नचलाए हलमा ताला लगाउने कानुन सरकारले बनाउँदैछ ।’
उनले साउन १ गतेभित्र देशभर बक्सअफिस लागू हुने पनि बताए । ‘बक्सअफिस लागू मात्र हुँँदैन । यसमा पनि केही समस्या रहेको सुनेको छु । यसपछि नियमन हुन्छ’, उनले हल सञ्चालकसँग माफी माग्दै भने, ‘बक्सअफिस लागू भएपछि नियमन हुँदैन भनेर आनन्दले नबस्नुहोला । गतिलो नियमन हुन्छ । किनकि, यसले नेपाली निर्मातालाई सुरक्षित गर्छ ।’ सरकारले 'क्लिन फिल्ड' पनि कुनै हालतमा लागू गर्ने उनको भनाई छ ।
चलचित्र विकास बोर्डको १९औं वार्षिकोत्सवमा १४ जना चलचित्रकर्मी, चार चलचित्र भवन, विशेष चलचित्रमा छनोट भएका तीन चलचित्र (बुलबुल, कथा ७२ र गोपी), डिजिटाइजेशन तथा रेस्टोरेशन प्राविधिक समिति र बोर्डका कर्मचारीलाई बोेर्डले सम्मान गरेको छ । कार्यक्रममा बोल्दै बोर्ड अध्यक्ष केशव भट्टराईले तीन वर्षदेखि रोकिएको 'राष्ट्रिय चलचित्र पुस्कार' असार २७ गते राष्ट्रपति भवनमा बाँडिने जानकारी गराए ।

