Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

शिवहरीको ‘लक्का जवान’ मा दीलिपकी छोरी हिरोइन ?

फिल्मीखबर, काठमाडौं, 2019/07/01
'प्वाक्क मुखमा हान्नु जस्तो' संवादले चर्चित हास्यकलाकार शिवहरी पौडेलले फिल्म निर्माण र निर्देशनमा हात हाल्ने भएका छन् । केही हास्य टेलिसियल निर्देशन गरिसकेका उनको निर्देशनमा बन्न लागेको फिल्म ‘लक्का जवान’ को आइतबार राजधानीमा हास्य कलाकार किरण केसीको जन्मदिनको अवसरमा घोषणा गरियो । फिल्ममा सह-निर्माताको रुपमा किरण र अभिनेता दीलिप रायमाझी रहनेछन् । 
 
 
आमा बंगालमुखी फिल्म प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण हुने फिल्ममा ध्रुव पन्त र अनुसुया श्रेष्ठ पन्तको लगानी रहनेछ । फिल्म पारिवारिक तथा कमेडी कथामा निर्माण हुने कार्यक्रममा शिवहरीले बताए । ‘अहिले हास्य फिल्म धेरै बनिरहेका छन् । हामी रियालिटी बेसमा फिल्म बनाउने छौं । कमेडी हुन्छ तर कथाको मागअनुसार मात्र राखिनेछ । बनावटी हुँदैन’, उनले भने । 
 
यो फिल्मबाट अभिनेता दीलिप रायमाझीकी छोरी दिव्यालाई डेब्यू गराउने चर्चा फिल्मवृतमा छ । यो कुरा स्वीकार गर्छन् शिवहरी । उनी भन्छन्, ‘हो, हामीले दिव्यालाई फिल्मबाट डेब्यू गराउने पहल गरिरहेका छौं । अहिले छलफल भइरहेको छ । चाँडै टुंगो लाग्नेछ ।’ अभिनेता दीलिपकी छोरी अहिले अमेरिकामा छिन् । उनी फिल्ममा प्रवेश गर्न इच्छुक रहेको जानकारी प्राप्त छ । 
 
 
(अभिनेता दीलिप रायमाझीकी छोरी दिव्या)
 
एक समय टेलिभिजनको पर्दामा जमेका कलाकारहरु पछिल्लो समय फिल्म निर्माणमा निकै आकर्षित भएको देखिन्छ । महजोडी हुँदै दीपकराज गिरी र दीपाश्री निरौलासम्मले फिल्म निर्माणमा पाइला राखिसकेका छन् । चाँडै सिताराम कट्टेल र कुञ्जना घिमिरे पनि फिल्म बनाउँदैछन् । 'भद्रगोल' टिम पनि फिल्म निर्माणको प्रक्रियामा छ । यो भीडमा अब शिवहरी पनि थपिएका छन् । 
Most Visited News (monthly)