गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ बाट सानदार डेब्यू गरेका अभिनेता धिरज मगरलाई भविष्यको ‘स्टार’ भनिन थालिएको छ । डेब्यू फिल्ममा उनको अभिनयको गजबकै प्रशंसा भएको थियो । अहिलेका जल्दाबल्दा अभिनेता द्वय अनमोल केसी र प्रदीप खड्कालाई उनी ‘थ्रेट’ हुनसक्ने चर्चा फिल्मवृतमा छ । यूके रैथाने उनलाई फिल्ममा लिन अहिले फिल्ममेकर बीच हानाथाप भइरहेको छ ।
तर, उनी दोस्रो फिल्म पनि ‘इन्टु मिन्टु लण्डनमा’ निर्देशक रेनशा वान्तवा राईको गर्दैछिन् । फिल्म ‘आई एम ट्वान्टिवान’ मा उनी अनुबन्ध भइसकेका छन् । सम्भवतः उनले तेस्रो प्रोजेक्ट पनि रेनशाकै गर्नेछन् । किनकि, रेनशाले उनलाई ‘इन्टु मिन्टु...’ सहित एकसाथ तीन फिल्ममा साइन गराएकी थिइन् । रेनशाका श्रीमान प्रज्वल सम्सेर जबराले निर्माण गर्ने फिल्म ‘मेरो एउटा साथी छ २’ मा पनि धिरज लिड रोलमा हुने सम्भावना प्रवल छ ।

चाँडै छायांकन सुरु हुने ‘आई एम ट्वान्टिवान’ मा धिरजको अपोजिटमा लामो समयदेखि अभिनेत्री जसिता गुरुङको नाम चर्चामा छ । तर, निर्माण टिमले उनीसँग कागजी सम्झौता गरेको छैन । मौखिक सहमती भने भइसकेको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित भएर बन्ने फिल्ममा दुई अभिनेत्री हुनेछन् । फिल्मीखबरलाई गोप्य स्रोतले दिएको जानकारी अनुसार, दोस्रो अभिनेत्रीको रुपमा फिल्ममा स्वस्तिमा खड्काको प्रवेश भएको छ ।
उनी र निर्माण टिमबीच केही हप्ता अगाडि कागजी सम्झौता भएको स्रोत बताउँछ । तर, निर्देशक रेनशाले स्वस्तिमासँग कुरा भए पनि फाइनल नभएको बताइन् । फिल्मीखबरसँग कुराकानी गर्दै उनले भनिन्, ‘फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित हुने भएकाले जसिता र स्वस्तिमा दुबैसँग कुरा भएको चाहिँ हो । तर, धिरजबाहेक कसैसँग कागजी सम्झौता भएको छैन ।’ उनका अनुसार, केही महिनायता फिल्मको स्क्रिप्टमा काम भइरहेको छ ।

