
बलिउड सुपरस्टार आमिर खान स्टारर फिल्म 'दंगल' बाट अभिनयमा डेब्यू गरेकी एक्ट्रेस जायरा वसीमले फिल्मबाट सन्यास घोषणा गरेकी छन् । 'सीक्रेट सुपरस्टार' फेम नेशनल अवार्ड विनर एक्ट्रेस जायराले अचानक फिल्म इन्डस्ट्री छाड्ने घोषणा गरेकी हुन् । चाँडै फिल्म 'द स्काई इज पिंक' मा देखिन लागेकी उनी बलिउडकी ट्यालेन्टेड अभिनेत्री मध्येकी एक हुन् ।
उनले अचानक अभिनय छाड्ने घोषणाले सबै हैरान भएका छन् । सोसल मिडियामा एक इमोसनल पोस्टमार्फत् उनले बलिउड छाड्ने घोषणा गरेकी हुन् । उनले आफ्नो पोस्टमा पाँच वर्ष अगाडि बलिउडमा पाइला राख्ने फैसलाले आफ्नो वास्तविक जीवनमा ल्याएको परिवर्तनको बारेमा बताएकी छन् । उनी फिल्ममा मिलेको पहिचानबाट आफू खुसी रहेको बताउँछिन् ।
तर, अभिनेत्री बनेपछि उनी आफ्नो धर्म इस्लामबाट टाढिँदै गएकी थिइन् । जायराको पोस्टमा उनको पीडा स्पष्ट छल्किएको छ । उनी लेख्छिन्, 'पाँच वर्षदेखि म आफ्नो आत्मासँग लडिरहेको थिएँ । फिल्ममा मिलेको सफलताबाट म खुसी छु । तर, मैले चाहेको पहिचान यो होइन, जुन म आफ्नो जिन्दगीबाट चाहन्थेँ । बल्ल मलाई यो कुराको महशुस भयो ।'
जायराले आफूले सोचेर सम्झिएर बलिउड छाड्ने निर्णय लिएको बताएकी छन् । सानै उमेरमा उनले कयौं अवार्ड जितेकी छन् । 'दंगल' बाट उनलाई बेस्ट सपोर्टिङ एक्ट्रेसको अवार्ड मिलेको थियो । 'सीक्रेट सुपरस्टार' का लागि जायराले फिल्मफेयर बेस्ट एक्ट्रेस क्रिटिक्स अवार्ड चुमेकी थिइन् । उनको फिल्म इन्डस्ट्री छाड्ने घोषणाले बलिउड सेलिब्रेटी चकित भएका छन् ।

