असार २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सानो मन’ को प्रचार चुस्त बनाउन निर्माण टिमले कुनै कसर बाँकी राखेको छैन । अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्के स्टारर यस फिल्मको गीतसंगीत र ट्रेलरले राम्रो हाइप निर्माण गरेको छ । यसबीच, निर्माण टिम मोफसल प्रचारमा निस्किएको छ । शुक्रबार फिल्म यूनिटले चितवनमा पत्रकारसँग अन्तरक्रिया गर्यो ।
अभिनेत्री शिल्पा, कलाकार सक्षमकृष्ण सुवेदी र निर्माता राजेन्द्र मानन्धरले फिल्मको बारेमा जानकारी गराए । अभिनेत्री मास्केले यस फिल्ममा आफूले निकै मेहनत गरेको बताइन् । दर्शकलाई फिल्म मनपर्ने उनको विश्वास छ । लण्डनमा बसेर एक हलिउड फिल्ममा अभिनय गरेकोे अनुभव सुनाउँदै उनले नेपाली फिल्ममा केही गर्ने संकल्प लिएर आएको बताइन् ।
कथावस्तु प्रभावशाली लागेर ‘सानो मन’ मा अभिनय गरेको उनको भनाई छ । यस्तै, नव नायक सक्षम कृष्ण सुवेदी आफ्नो पहिलो फिल्म भए पनि निकै मेहनत गरेको बताए । उनी यस फिल्मबाट ठूलो आशा रहेको पनि बताउँछन् । निर्माता राजेन्द्र मानन्धरले फिल्मको कथा राम्रो लाथेर लगानी गरेको बताए । चितवन पश्चात् निर्माण टिम शनिबार पोखरा पुगेको छ ।
अभिनेता आयुष्मान काम व्यस्तता र निर्देशक सुयोग गुरुङ्ग फिल्मको कामले गर्दा मौफसल यात्रामा निस्कन पाएनन् । फिल्ममा विशाल पहाडी, गौरी मल्ल, रश्मी भट्ट, शिशिर वाङ्देल, सक्षम कृष्ण सुवेदी, कृष्ण भक्त महर्जन, देव कुमार श्रेष्ठ लक्ष्मी भुषाल लगायतका कलाकारको पनि अभिनयछ । ओ.पि.जी फिल्मस, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा निर्माण भएको हो ।
निर्माताहरू योगेश गुरुङ्ग, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर हुन् । रित बोहरा मुख्य सहायक निर्देशक रहेको ‘सानो मन’ म्यूजिकल लभस्टोरी जनरामा निर्माण भएको हो । यो फिल्मलाई आलोक शूक्लाले छायांकन गरेका हुन् ।

