एक छोरा र पिताको भावनात्मक सम्बन्धको कथा वाचन गरेको फिल्म ‘आप्पा’ ले बक्सअफिसमा सुखद ओपनिङ गरेको छ । प्रदर्शनको पहिलो दिन शुक्रबार औसत व्यापार गरे पनि शनिबार फिल्म बिहानैदेखि देशैभर हाउसफुल रहेको निर्माण टिमबाट जानकारी प्राप्त छ । अभिनेता दयाहाङ राई स्टारर यस फिल्मले शनिबार मल्टीप्लेक्स र सिंगल थिएटर दुबैतिर राम्रो व्यापार गरेको वितरकले बताएका छन् ।
फिल्मको व्यापार सिंगलमा भन्दा मल्टीप्लेक्सतर्फ राम्रो छ । शनिबार राजधानीका मल्टीप्लेक्सले फिल्मलाई उपलब्ध गराएका सबै सोज दर्शकले भरिएको निर्देशक अनमोल गुरुङ बताउँछन् । मध्यम वर्गीय दर्शकको अत्याधिक चाप रहने गोपी, गुण, अष्टनारायणलगायतका राजधानीका सिंगल थिएटरमा पनि दर्शकको उपस्थिति राम्रो देखिएको थियो । फिल्मलाई बढिजसो मिश्रित प्रतिक्रिया प्राप्त छ ।
.jpg)
मोफसलतर्फ नेपाली फिल्मको ठूलो बजार मानिने पोखरा, चितवन, बुटवल, विर्तामोड, इटहरीलगायतका प्रमुख स्टेशनमा पनि शनिबार फिल्म हाउसफुल रहेको रिपोर्ट प्राप्त छ । ‘वर्ड अफ माउथ’ बलियो भएका कारण आइतबारबाट फिल्म हेर्ने दर्शकको चाप बढ्नेमा निर्देशक गुरुङ विश्वस्त छन् । उनको यो डेब्यू निर्देशित फिल्म हो । उनको निर्देशकिय क्षमताको सबैले प्रशंसा गरेका छन् । बाबु–छोराको प्रेमलाई उनले इमानदार ढंगले पस्किएका छन् ।
फिल्ममा अभिनेता दयाहाङ राईले उत्कृष्ट अभिनय गरेका छन् । उनी फिल्मका मेरुदण्ड हुन् । आप्पा अर्थात् पिताको भूमिकालाई उनले न्यायपूर्वक निर्वाहा गरेका छन् । सिद्धान्त राज तामाङ, तुलसी घिमिरे, अल्लोना काबो लेप्चा, अरुणा कार्कीले पनि राम्रो काम गरेका छन् । आइतबारको व्यापारले यो फिल्म बक्सअफिसमा लामो रेसको घोडा बन्ने वा नबन्ने भन्ने तय गर्नेछ । ‘आप्पा’ भारतका २५ हलमा पनि प्रदर्शनरत छ ।
शनिबार दिउँसो फिल्मका अभिनेता सिद्धान्त र अभिनेत्री अल्लोनाले राजधानीका केही हल पुगेर दर्शक प्रतिक्रिया बुझे । दर्शकहरुले फिल्म राम्रो बनेको प्रतिक्रिया दिँदा उनीहरु निकै खुसी देखिए । दुबैको यो डेब्यू फिल्म हो । सिद्धान्तले दर्शकले फिल्म रुचाएकोमा खुसी व्यक्त गरे । अल्लोना फिल्म हेर्ने सबैबाट राम्रो प्रतिक्रिया मिलेको बताउँछिन् । उनी दर्शकले आफ्नो अभिनय रुचाएकोमा निकै खुसी छिन् । सिद्धान्त र अल्लोना दुबैले अब अभिनयलाई निरन्तरता दिने प्रण गरेका छन् ।

