अभिनेत्री जसिता गुरुङमाथि नेपाली फिल्म क्षेत्रको ठूलो आशा र अपेक्षा छ । डेब्यू फिल्म 'लिलिबिली' बाट उनले अभिनयमा राम्रो सम्भावना देखाएकी थिइन् । मिलन चाम्स निर्देशित यस फिल्ममा उनको अपोजिटमा अभिनेता प्रदीप खड्का थिए । फिल्म बक्सअफिस फ्लप साबित भए पनि उनको अभिनय र सुन्दरताको गजबकै प्रशंसा भयो । दर्शकले प्रदीपसँग उनको जोडी पनि औधि रुचाए । यो फिल्मपछि उनीहरु अफेयरमा रहेको चर्चा छ ।
डेब्यू फिल्मपछि जसितालाई प्रतिष्ठित ब्यानरबाट बाक्लै फिल्मको अफर आए । तर, कुनै गरिनन् । यसको कारण धेरैले प्रदीपलाई माने । प्रेममा भएका कारण प्रदीपले उनलाई अन्य फिल्म गर्न नदिएको चर्चा चल्यो । यो अझै पनि जारी छ । यसबीच, उनले दोस्रो फिल्म (लभ स्टेशन) पनि प्रदीपसँगै गरिन् । यसले उनको प्रदीपसँगको प्रेमलाई थप उदाङ्गो पार्यो । तर, बजारमा चलेको दुईको प्रेम चर्चाले फिल्म 'लभ स्टेशन' लाई कुनै फाइदा गरेन ।
रिलिजपूर्व ठूलो हल्लाखल्ला भए पनि हलमा दर्शकको खडेरी लाग्यो । फिल्म रिलिज नहुँदै चोरीको बात लागेको थियो । रिलिजपछि एक टर्किस फिल्मको कथावस्तु र प्लट डल्लै चोरी गरेको भेटिएपछि फिल्म हेर्न दर्शकले चासो देखाएनन् । फिल्म बक्सअफिसमा नराम्रोसँग डुब्यो । यो फिल्म असफल भएसँगै प्रदीप र जसिताको सम्बन्धमा पनि त्तिक्तता आएको गाईंगुइँ सुनिन थालिएको छ । अब, दुईको सहकार्य असम्भव हुँदै गएको चर्चा बजारमा छ ।
.jpg)
डेब्यू फिल्म 'लिलिबिली' मा जसिताको अभिनयको राम्रै प्रशंसा भए पनि दोस्रो फिल्म 'लभ स्टेशन' बाट खासै भएन । यो फिल्म रिलिजको मुखमा रहँदा निर्देशक अशोक शर्माले उनलाई 'रातो टिका निधारमा' अफर गरेका थिए । तर, उनले १० लाख पारिश्रमिक मागेपछि १६ लाख दिएर निर्देशक शर्माले अभिनेत्री साम्राज्ञी आरएल शाहलाई अनुबन्ध गरे । 'लभ स्टेशन' असफल भएपछि उनी उक्त फिल्म छाडेकोमा पछुताएको निकट स्रोत बताउँछ ।
अहिलेसम्म उनले तेस्रो फिल्मको रुपमा कुनै नयाँ फिल्म साइन गरेको जानकारी प्राप्त भएको छैन । यद्यपि, उनले निर्देशक रेनशा वान्तवा राईको फिल्म 'आई एम ट्वान्टिवान' गर्ने सम्भावना छ । यसमा उनको अपोजिटमा अभिनेता धिरज मगर हुनेछन् । उनीसँग निर्माण टिमको मौखिक सहमती भइसकेको छ । प्रदीपसँग जसिताको जोडी मात्र दर्शकले रुचाए । हिट फिल्मको अंक जोडिएन । जसिताका लागि तेस्रो फिल्म जसरी पनि हिट हुन जरुरी छ । नभए, फ्लप फिल्ममा ह्याट्रिक पक्का छ ।
दुई फिल्मको असफलतापछि उनी अब फिल्म छनोटमा हतारिने पक्षमा छैनन् । ह्याट्रिकको डरले सताउन थालेको छ । तेस्रो फिल्म पनि असफल भए उनीमाथि लगानी गर्न निर्माता/निर्देशक तयार हुन गाह्रो छ । त्यसैले उनले तेस्रो प्रोजेक्ट निकै सम्यमित भएर छनोट गर्न आवश्यक छ । फिल्ममा लामो रेसको घोडा बन्न जसिताले अब राम्रो स्क्रिप्ट र भूमिका खोज्नका लागि मेहनत गर्नुपर्ने देखिन्छ । आशा गरौं, उनीमाथि फिल्म क्षेत्रले गरेको आशा र अपेक्षा अधुरै रहने छैन ।

