गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘बुलबुल’ बाट अभिनयमा डेब्यू गरेका कलाकार हुन्, मुकुन्द भुषाल । यसमा उनले 'चोपेन्द्र' नामक पात्रको भूमिका निभाएका थिए । फिल्मले बक्सअफिसमा औसत व्यापारमा गरिरहँदा समीक्षात्मक रुपमा फिल्मले ठूलो सफलता हात पार्यो । फिल्म हेर्ने दर्शकले पनि निकै रुचाए । मुकुन्दको अभिनयको पनि गजबकै प्रशंसा भयो ।
अभिनयमा मास्टर डिग्री गरेका उनलाई डेब्यू फिल्मबाटै नेपाली फिल्म क्षेत्रले सम्भावना बोकेको कलाकारको रुपमा हेरेको छ । आजभोली उनलाई वास्तविक नामले कम ‘बुलबुल’ मा निभाएको चोपेन्द्र पात्रको नामबाट धेरैले चिन्न थालेका छन् । फिल्ममा निभाएको चरित्रको नामले दर्शकले आफूलाई चिन्दा खुसी लाग्ने उनी बताउँछन् । उनी चाहन्छन् चोपेन्द्र पात्र सधैं बाँचिरहोस् ।

उनी अहिले फिल्म अभिनयसँगै अध्यापन पनि व्यस्त छन् । थापागाउँको मन्दिर नजिक रहेको कान्तिपुर फिल्म एकेडेमीमा उनी एक वर्षका लागि फिल्म अभिनय सिकाउने शिक्षकको रुपमा अनुबन्ध छन् । उनले ओस्कार कलेज अफ फिल्म स्टडिजमा पनि अध्यापन गर्छन् । बिहीबार कान्तिपुर फिल्म एकेडेमी पुग्दा उनी करीब २५ जना विद्यार्थीहरुलाई केही फरक शैलीमा अभिनय सिकाइरहेका थिए । मुकुन्द अभिनय सिकाउँदा छुट्टै प्रकारको आनन्द महशुस हुने बताउँछन् ।
उनी घोकेर अभिनय नसिकिने तर्क राख्छन् । ‘घोकेर अभिनय सिकिन्न । फिल्म आफैंमा आर्ट भएका कारण आर्टिस्टिक तरिकाले अध्ययन गराउनु पर्छ जस्तो मलाई लाग्छ’, उनी भन्छन्, ‘म चाहिँ जसरी उहाँहरु (विद्यार्थी) ले इन्जोय गर्नुहुन्छ म त्यसरी नै अध्ययन गराउँछु । म आफूले सिकेका कुरा उहाँहरुलाई सिकाउँछु । उहाँहरुबाट म पनि सिकिरहेको छु ।’ उनी शिक्षक र विद्यार्थी साथी हुनुपर्ने बताउँछन् ।
मुकुन्दले अध्यापनका लागि कान्तिपुर फिल्म एकेमेडी रोज्नुको कारण शान्त वातावरण मान्दछन् । उनी भन्छन्, ‘हामीले जहाँ गए पनि सिकाउने कुरा एउटा नै हो । चाहे अमेरिका जानुस् वा अन्य देश, हामीले कभर गर्ने कुरा एउटा नै हो । कान्तिपुर फिल्म एकेडेमीमा भने मलाई आनन्द लाग्छ ।’ उनी आफूले अध्ययन गराएका विद्यार्थी फिल्म क्षेत्र आउँदा आफूलाई खुसी लाग्ने बताउँछन् ।
आफूले पढाएका विद्यार्थी आफ्नै प्रतिस्पर्धी होस् भन्ने पनि चाहन्छन्, मुकुन्द । आफ्ना विद्यार्थी आफ्नै प्रतिस्पर्धी भएर निस्कँदा अझ खुसी हुने उनको भनाई छ । उनले आफूले फिल्म क्षेत्रको सबैभन्दा ठूलो व्यक्ति हुने सोचले फिल्म सम्बन्धि अध्ययन नगरेको पनि बताए । फिल्म अभिनयमा पिएचडी गर्ने सोचमा रहेका उनी भन्छन्, ‘मैले आत्मसन्तुष्टिका लागि अभिनय विषय लिएर अध्ययन गरेको हुँ । फिल्म इन्डष्ट्री हल्लाउँछु भनेर पढेको होइन ।’
आफ्नो सहजताका लागि अभिनय सम्बन्धि अध्ययन गरेको उनको कथन छ । ‘मैले क्ल्याप ठोकेर अभिनय सिक्न चाहिनँ । मलाई सजिलो बाटो अध्ययन लाग्यो । सबैले अभिनय सिक्न पढ्नै पर्छ भन्ने तर्क पनि म राख्दिनँ । कोही परेर सिक्छन् । धेरै कलाकार हुनुहुन्छ, जो परेर उत्कृष्ट काम गरिरहनुभएको छ । पर्नु र पढ्नु एउटै कुरा हो । जसरी पनि सिक्ने नै हो’, उनी सुनिए । मुकुन्द उर्फ चोपेन्द्रले हालसालै निर्देशक ज्ञानेन्द्र देउजाको फिल्म ‘झिँगेदाउ’ साइन गरेका छन् ।
भिडियो अन्तर्वार्ता हेर्नुस् :-

