Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘जात्रै जात्रा’ को कमाई साढे ९ करोड !

फिल्मीखबर, काठमाडौं, 2019/06/28
गएको जेठ ३ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘जात्रै जात्रा’ ले सफलतापूर्वक शुक्रबारबाट सातौं हप्तामा प्रदर्शन आरम्भ गरेको छ । प्रदर्शनको तीन हप्ता बक्सअफिसमा जबरजस्त व्यापार गरेको फिल्मको कमाई छैटौं हप्तासम्म पनि राम्रो रह्यो । ‘वर्ड अफ माउथ’ बलियो हुँदा त्यसको प्रभाव बक्सअफिसमा पर्‍यो । फिल्म अहिले ५१ दिने बाटोमा छ । 
 
यो फिल्मको पहिलो पार्टले पनि केही हलहरुमा प्रदर्शनको ५१ दिन मनाएको थियो । ‘जात्रै जात्रा’ अहिले सिंगल थिएटरतर्फ राजधानीको गोपीकृष्ण, गुण र अष्टनारायणमा चलिरहेको छ । मोफसलका केही सिंगल थिएटरमा पनि फिल्म चलिरहेको जानकारी प्राप्त छ । मल्टीप्लेक्सतर्फ क्यूएफएक्स चेन, एफक्यूब र विएसआरमा प्रदर्शनरत छ । 
 
 
प्रदीप भट्टराई निर्देशित फिल्मले प्रदर्शनको छैटौं हप्तासम्म घरेलु बजारबाट साढे ९ करोडको आसपासमा व्यापार गरेको निर्माता तथा कलाकार रविन्द्रसिंह बानियाँले फिल्मीखबरलाई जानकारी दिए । अहिले ५१ दिने कार्यक्रम भब्य रुपमा मनाउने तयारी चलिरहेको उनले बताए । उनी फिल्मको सफलताले हौसलासँगै थप चुनौती र जिम्मेवारी थपिएको बताउँछन् । 
 
नेपालमा समीक्षक र दर्शकको मनोविज्ञानबीच मेल खान सकेको छैन । त्यसैले समीक्षकले रुचाएका फिल्मलाई दर्शकले ‘रिजेक्ट’ गर्दै आइरहेका छन् । भने, दर्शकले रुचाएका फिल्मले समीक्षकको तारिफ पाउन सकेका छैनन् । ‘जात्रै जात्रा’ भने अपवाद बन्यो । यसलाई समीक्षक र दर्शक दुबैले रुचाए । यो फिल्मले सिक्वेलको इज्जत बचाएर स्तर बढाएको छ । 
 
‘जात्रै जात्रा’ बाट निर्देशक प्रदीपले व्यावसायिक रुपमा सफल फिल्मको रुपमा ह्याट्रिक गरेका छन् । यसअघि उनी निर्देशित दुई फिल्म ‘जात्रा’ र ‘शत्रु गते’ ले हलमा प्रदर्शनको ५१ दिनसँगै बक्सअफिसमा सुपरहिटको व्यापार गरेको थियो । मल्टीस्टारर ‘जात्रै जात्रा’ बाट यसका निर्मातालाई चोख्खो ३ करोड शेयर हात पर्ने अनुमान गरिएको छ । 
Most Visited News (monthly)