Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नम्रता भन्छिन्, ‘एक्सन फिल्म गर्ने कल्पना पनि गरेको थिइनँ’

फिल्मीखबर, काठमाण्डौ, 2019/06/27
अभिनयको पारंगत मानिने अभिनेत्री नम्रता श्रेष्ठ जस्तोसुकै भूमिकालाई जीवन्त ढंगबाट प्रस्तुत गर्न सिपालु छन् । उनी आफ्नो भूमिकालाई न्याय गर्न दिलोज्यान दिन्छिन् । एक दशक लामो फिल्म करिअरमा एकसेएक सम्झनलायक फिल्म दिएकी उनलाई दर्शकले लभर गर्लको भूमिकामा निकै रुचाउने गर्दछन् । उनी अभिनीत ‘मेरो एउटा साथी छ’, ‘नोभेम्बर रेन’,  ‘क्लासिक’ फिल्म दर्शकको मनमा गडेर बसेका छन् । 
 
नम्रता अभिनीत पछिल्लो रिलिज फिल्म ‘प्रसाद’ हो । यो फिल्मले बक्सअफिसमा राम्रो पैसा छापेको थियो । उनको अभिनयलाई पनि दर्शक समीक्षक दुबैले मुक्तकण्ठले प्रशंसा गरेका थिए । फिल्म छनोटमा निकै चुजी मानिने नम्रता ‘प्रसाद’ पछि पर्दामा देखिएकी छैनन् । न त कुनै नयाँ फिल्म नै साइन गरेको जानकारी प्राप्त छ । हालै उनले आफ्नो ३३ औं जन्मदिन मनाएकी थिइन् । 
 ‘प्रसाद’ भन्दा अगाडि छायांकन सकिएको उनी अभिनीत नयाँ फिल्म ‘जाइरा’ आउँदो भाद्र ६ गतेबाट प्रदर्शनमा आउँदैछ । यसमा उनले करिअरको सबैभन्दा चुनौतीपूर्ण भूमिका निभाएकी छिन् । यो एक्सन प्रधान फिल्म हो । यसअघि उनले एक्सन फिल्ममा काम गरेकी थिइनन् । ‘जाइरा’ बदलाको कथामा आधारित छ । यसमा नम्रताले मिक्स मार्शल आर्ट खेलाडीको भूमिका निर्वाहा गरेकी छन् । 
 
 
फिल्मका लागि उनले ८ महिना मार्शल आर्टको तालिम लिएकी थिइन् । आफ्नो लोभलाग्दो कमाल समेत मुण्डन गरिन् । उनी जीवनमा आफूले एक्सन फिल्म गर्ने कल्पना समेत नगरेको बताउँछन् । बिहीबार फिल्ममा समावेश ‘आँखैले बोल्छ’ बोलको रोमान्टिक गीत सार्वजनिक कार्यक्रममा उनले एक्सन सिक्न र फिल्ममा गर्न निकै गाह्रो भएको अनुभव सुनाइन् । आफ्नो मेहनत दर्शकले रुचाउनेमा उनी विश्वस्त छिन् । 
 
उनी भन्छिन्, ‘मैले कहिल्यै सोचेको समेत थिइनँ एक्सन फिल्म पनि गर्छु भनेर । आशुतोषले स्क्रिप्ट ल्याएर तिमीले गर्न सक्छौ भनेपछि मैले आफूलाई त्यो क्यारेक्टरमा कल्पना गर्न थालेँ । तर, कल्पना गर्नु र वास्तविकतामा आकाश जमिनको फरक हुँदो रहेछ । टिमको सहयोग हुँदैन थियो भने मबाट यो सम्भव थिएन ।’ उनले फिल्मको सुटिङमा एक्सन गर्दा आफूलाई धेरै चोट लागेको पनि सम्झिइन् । 
 
यो फिल्मका निर्देशक आशुतोष राज श्रेष्ठ हुन् । उनको यो डेब्यू निर्देशित फिल्म हो । नम्रतासँगै अनुपविक्रम शाही, प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठसहित नव-कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरको अभिनय रहेको छ । प्रसन्न गोपाली कार्यकारी निर्माता रहेको ‘जाइरा’ का पटकथाकार निर्देशक श्रेष्ठ र निरोज महर्जन हुन् । फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको छ ।
Most Visited News (monthly)