
प्रियंका चोपडा, अभिषेक बच्चन र जोन अब्राहम स्टारर सुपरहिट फिल्म ‘दोस्ताना’ रिलिजको करीब ११ वर्षपछि यसको सिक्वेल बन्ने भएको छ । निर्माता तथा निर्देशक करण जोहरले आफ्नो इन्स्टाग्राममा एक पोस्टमार्फत् दर्शकलाई यसबारे जानकारी गराएका छन् । फिल्ममा जान्हवी कपूर र कार्तिक आर्यन प्रमुख भूमिकामा देखिनेछन् ।
दुईका अलावा फिल्ममा एक नयाँ कलाकारहरुको पनि अभिनय रहने बताइएको छ । ‘दोस्ताना’ लाई तरुण मनसुखानीले निर्देशन गरेका थिए । अब, ‘दोस्ताना २’ को निर्देशकको जिम्मेवारी कोल्लिन डी कुन्हालाई मिलेको छ । फिल्म करण जोहरको प्रोडक्सन हाउस धर्मा मुभिजको ब्यानरमा बन्ने छ । चाँडै फिल्मको छायांकन सुरु हुँदैछ ।
करणले फिल्मको घोषणा गर्दै भनेका छन्, 'म 'दोस्ताना' फ्रेचाइजमा जान्हवी कपूर र कार्तिक आर्यनलाई लिएर निकै उत्साहित छु । कार्तिकसँग धर्मा प्रोडक्शनको यो पहिलो फिल्म हो । हामी एक अभिनेता पनि पेश गर्दैछौं, जो हाम्रो प्रोडक्शन हाउसको अविश्वसनीय प्रतिभामा सामेल हुनेछ । कोल्लिन डी कुन्हा पनि ‘दोस्ताना २’ बाट निर्देशनमा डेब्यू गर्दैछन् ।'
फिल्म ‘धडक’ बाट बलिउडमा डेब्यू गरेकी अभिनेत्री जान्हवी कपूर र केही हिट फिल्म दिइसकेका कार्तिक आर्यनले यो फिल्ममा पहिलो पटक काम गर्न लागेका हुन् । कार्तिक अहिले सारा अली खानसँग फिल्म ‘लभ आज कल २’ मा व्यस्त छन् । जान्हवी भने ‘रूही-अफ्जा’ र ‘कार्गिल गर्ल’ को छायांकन गरिरहेकी छन् । ‘दोस्ताना २’ अर्को वर्ष रिलिज हुनेछ ।

