अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्के स्टारर फिल्म ‘सानो मन’ पूर्वघोषित मितिमा प्रदर्शन नहुने भएको छ । फिल्म एकहप्ता पछाडि सरेको छ । असार २० मा आउने निश्चित भएको यो फिल्म प्राविधिक पाटोमा काम गर्न समय अपुग भएपछि एकहप्ता पछि सरेको हो । अब, असार २७ गतेबाट फिल्म देशभर प्रदर्शनमा आउनेछ ।
फिल्मको रिलिज डेट पोन्टपोन्ड हुनुको कारणबारे जानकारी दिँदै निर्माता राजेन्द्र मानन्धरले भने- 'हतारमा नराम्रो फिल्म रिलिज गर्नुभन्दा प्राविधिक सुधार गरी एकहप्ता ढिलो आउन लागेका हौँ ।' सुयोग गुरुङको डेब्यू निर्देशनमा निर्माण भएको फिल्ममा सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको पनि अभिनय छ ।
.jpg)
ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा यो फिल्म निर्माण भएको हो । सुयोग गुरुङ र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्मको भिएफएक्स नगेश कँडेलले गरेका छन् । समिर सुनवार र निर्देशक गुरुङको संयुक्त लेखन रहेको यस चलचित्रलाई आलोक शुक्लाले छायांकन गरेका छन् ।
काठमाडौं, भैरहवा, बैंकक लगायतका ठाउँहरुमा छायांकन भएको यस फिल्मका निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर हुन् । रीत बोहरा मुख्य सहायक निर्देशक हुन् प्रोडक्सन डिजाइनर यम ओली हुन् । म्युजिकल लभस्टोरी रहेको उक्त फिल्मका दुई गीत तथा ट्रेलर पनि सार्वजनिक भइसकेका छन् ।

