.jpg)
‘एक्सन स्टार’ विराज भट्टले निर्देशनमा डेब्यू गरेको फिल्म ‘साङ्लो’ को सम्पूर्ण छायांकन क्यामेरा ‘अन’ भएको ५० दिनमा सकिएको छ । डोटीबाट फिल्मको छायांकन सुरु भएको थियो । काठमाडौंमा केही सिन खिच्दै फिल्म प्याकअप भएको हो । अब, केही महिना फिल्म सम्पादनको टेवुलमा रहनेछ । फिल्मलाई भदौमा रिलिज गर्ने सोचमा विराज छन् ।
किड्नी तस्करीको कथा बोल्ने बताइएको फिल्ममा विराज स्वयंको प्रमुख भूमिका छ । उनले पूर्व मिस नेपाल निकिता चाण्डकसँग रोमान्स गरेकी छन् । केही हप्ता अगाडि डोटीको जोरायल गाउँपालिकाले विकास निर्माणको बजेटबाट १० लाख छुट्याएपछि यो फिल्म विवादमा तानिएको छ । यसअघि पनि विराजले प्राविधिक कुटेपछि फिल्म विवादमा घेरिएको थियो ।
विराजले करीब ३ वर्षदेखि नेपाली फिल्ममा कमब्याक गर्दैछन् । उनी अभिनीत पछिल्लो फिल्म ‘जय परशुराम’ हो । ‘साङ्लो’ मा प्रकाश शाह नेगेटिभ रोलमा छन् । यसअघि फिल्म 'लभ स्टेशन' मा उनले अभिनय गरेका थिए । मानकृष्ण महर्जन छायाँकार रहेको फिल्ममा कामेश्वर चौरासिया, जयनन्द लामा, आर.पि. पन्तलगायतका कलाकारहरुको पनि अभिनय छ ।
फिल्ममा विराज र निकिता प्रेम-प्रेमिका हुँदै श्रीमान्-श्रीमतिको भूमिकामा देखिने जानकारी प्राप्त छ । यस फिल्मलाई लिएर निकिता निकै उत्साहित छिन् । यसअघि उनले फिल्म 'रानी महल' साइन गरेकी थिइन् । तर, आधा छायांकन नसकिँदै अब कहिल्यै नबन्ने गरि फिल्म थन्कियो । यसपछि उनी ‘साङ्लो’ मा जोडिइन् । दर्शकलाई यो फिल्मको व्यग्र प्रतिक्षा छ ।

