‘एक्सन स्टार’ को उपाधि पाएका निखिल उप्रेतीको एक समय नेपाली फिल्ममा जगजगि थियो । उनले अभिनय गरेका हरेक फिल्मबाट निर्माताले बोराका बोरा पैसा बटुल्थे । तर, बिस्तारै उनको साम्राज्य डगमगाउन थाल्यो । त्यही बेला उनले अभिनेत्री सञ्चिता लुईंटेलसँग दोस्रो विवाह गरेर पाँच वर्ष भारत बसे । यसपछि दर्शकले उनलाई हेर्ने नजर पनि फेरियो । कतिपयले उनी अब पलायन भएको अनुमान लगाए ।
तर, उनी पाँच वर्षपछि ठूलो पर्दामा फर्किए । उनले आफ्नै निर्माण, निर्देशन र अभिनयमा फिल्म 'भैरव' बनाए । फिल्मले उनको कमब्याक सफल तुल्यायो । यसपछि उनको माग र पारिश्रमिक पुनः नेपाली फिल्ममा बढ्यो । 'भैरव' पछि उनले गत वर्षसम्म आधा दर्जन बढी फिल्म गरे । तर, कसैले उनको स्टारडम तिखार्न सकेनन् । अहिले उनलाई लिएर फिल्म बनाउने जोखिम उठाउन निर्माता/निर्देशक डराएका छन् ।
(1).jpg)
सर्लाही रैथाने अभिनेता निखिलले दोस्रो पटक फिल्म ‘कमिटमेन्ट सिक्स्टी हावर्स’ को क्याप्टेनसिप सम्हाले । फिल्ममा उनकै अभिनय थियो । उनले आफ्नो अपोजिटमा आफ्नी साली अर्थात् श्रीमती सञ्चिता लुईंटेलकी बहिनी सिवानी लुइँटेललाई अनुबन्ध गरे । आफ्नी सालीलाई ‘स्टार’ बनाउने निखिलको ठूलो सपना थियो । तर, यो फिल्मको छायांकन पूरा नहुँदै रोकियो । सम्भवतः अब यो फिल्म बन्दैन ।
साली सिवानीलाई हिरोइन बनाउने कमिटमेन्ट पूरा गर्न नसकेका निखिल यतिबेला आफ्नै निर्माण, निर्देशन र अभिनयमा फिल्म 'भैरव' को दोस्रो पार्ट ‘आयो भैरव’ को तयारीमा छन् । चाँडै यस फिल्मको घोेषणा गर्ने तयारीमा उनी छन् । अहिले फिल्मको प्री–प्रोडक्सनको काम भइरहेको छ । फिल्मको कथा उनी स्वयंले लेखिरहेका छन् । यो फिल्म पनि इमान्दार प्रहरीको कथामा बन्ने बताइएको छ ।
तर, अहिलेसम्म फिल्ममा अभिनय गर्ने कलाकारमा उनीबाहेक कोही फाइनल भएका छैनन् । ‘कमिटमेन्ट सिक्स्टी हावर्स’ थन्किएपछि साली सिवानीलाई हिरोइन बनाउने अधुरो रहेको सपना अब निखिलले ‘आयो भैरव’ मार्फत् पूरा गर्न लागेको चर्चा फिल्मवृतमा सुरु हुन थालेको छ । यस फिल्ममा निखिल र सिवानीको जोडी बाँधिएको खण्डमा दर्शकलाई पर्दामा भेना र सालीको जोडी हेर्न निकै रोचक हुने देखिन्छ ।

