
अभिनेता अनुपम खेरले सन् १९८७ मा आएको शेखर कपूर द्वारा निर्देशित फिल्म 'मिस्टर इन्डिया' मा ‘मोग्याम्बो’ को भूमिकामा आफू पहिलो रोजाइ रहेको बताएका छन् । शनिबार दिवंगत अभिनेता अमरीश पुरीको ८७ औं जन्मदिनको अवसरमा अनुमपले उनी आफ्नो सबैभन्दा मिल्ने साथी रहेको बताए । उनी अमरीशलाई उत्कृष्ट अभिनेता भन्छन् ।
गूगलले शनिबार अमरीश पुरीको ८७ औं जयन्तीको अवसरमा एक डूडल बनाएर उनलाई श्रद्धाञ्जली दिएको थियो । उनी 'मिस्टर इन्डिया' मा मोग्याम्बो र 'दिलवाले दुल्हनिया ले जाएंगे' मा चौधरी बलदेव सिंह जस्तो ऐतिहासिक भूमिकाबाट चर्चित छन् । फिल्ममा प्रायः नेगेटिभ रोल निभाएका उनी केही फिल्ममा पोजेटिभ रोलमा पनि प्रस्तुत भएका थिए ।
फिल्म 'वन डे : जस्टिस डिलिवर्ड' को प्रचारमा अनुपमले 'मस्टिर इन्डिया' मा मोग्याम्बोको भूमिका सबैभन्दा अगाडि आफूलाई मिलेको बताए । उनले भने, ‘यो भूमिकामा सबैभन्दा अगाडि मलाई अफर गरिएको थियो । भूमिका असाध्धै राम्रो लागेका कारण मैले फिल्म गर्ने निर्णय पनि लिएको थिएँ । तर, एक दुई महिनापछि निर्माताले मेरो ठाउँमा अमरीश पुरीलाई लिए ।’
अनुपम खेर अगाडि भन्छन्, ‘जब तपाईं कुनै फिल्मबाट निक्लिनुहुन्छ तब सामान्य रुपमा निकै नराम्रो लाग्छ । तर, जब मैले 'मिस्टर इन्डिया' देखेँ र अमरीशजीलाई मोग्याम्बोको रुपमा देखेँ तब मैले सोचेँ कि फिल्मका निर्माताले अमरीशजीलाई लिएर सही निर्णय गरे । सायद मैले उहाँले जसरी मोग्याम्बोको भूमिका न्यायपूर्वक निभाउन सक्दिन थिएँ ।’

