शनिबार राजधानीका तीन सिंगल थिएटरमा प्रदर्शनको ५१ दिन मनाएको फिल्म ‘दाल भात तरकारी’ बाट अभिनेता पुष्प खड्का र अभिनेत्री आँचल शर्मालाई न हर्ष हुने ठाउँ छ न त विस्मात नै । हर्षित हौं, अभिनयको दर्शक/समीक्षक कसैले प्रशंसा गरेनन् । आलोचना मात्र भयो । विस्मात हौं, फिल्म बक्सअफिसमा सफल भयो । यद्यपि, देखावटी रुपमा भने दुई खुसी छन् ।
फिल्ममा दुईको जोडी बाँधिएको थियो । तर, दुबैको अभिनय स्वभाविक थिएन । आँचलले त अहिलेसम्म अभिनयको प्रशंसाको गन्ध समेत महशुस गर्न पाएकी छैनन् । पुष्पले भने अघिल्लो फिल्म ‘मंगलम’ मा उत्कृष्ट अभिनय पस्किएका थिए । तर, ‘दाल भात तरकारी’ मा न उनको अभिनय न त भूमिकाले नै दर्शक बाँध्यो । उनका क्रेजी फ्यान समेत रुष्ट भए ।
(1).jpg)
यद्यपि, पुष्प र आँचलको जोडीलाई भने दर्शकले निकै रुचाए । धेरैले फेरि दुईलाई ठूलो पर्दामा हेर्ने इच्छा व्यक्त गरेका छन् । ‘दाल भात तरकारी’ हलमा प्रदर्शन भइरहँदा उनीहरुलाई एक फिल्मबाट अफर समेत आएको थियो । तर, नगरेनन् । किन अस्वीकार गरे त ? आइतबार राजधानीमा भएको फिल्म ‘दाल भात तरकारी’ को ५१ दिने सेलिब्रेसन कार्यक्रममा पुष्प र आँचलले यस विषयमा मुख खोले ।
दुईलाई अफर आएको फिल्म त्यही हो, जसका लागि पुष्पले ३० लाख पारिश्रमिक मागेका थिए । तर, दुबैले फिल्मको कथा राम्रो नलागेर छाडेको बताए । आँचल भन्छिन्, 'मलाई सिधै अफर आएको थिएन । पुष्पजीलाई आएको थियो । उहाँले ‘ओके’ भनेपछि म पनि स्क्रिप्ट पढ्ने सोचमा थिएँ । उहाँले रिजेक्ट गरेपछि मैले पनि चासो देखाइनँ । यद्यपि, फिल्मको वानलाइन स्टोरी भने मलाई थाहा थियो ।'
दुईले राम्रो टिम र स्क्रिप्टबाट अफर आएको खण्डमा पुनः सहकार्य हुने बताए । ‘दाल भात तरकारी’ बाट आफूहरुलाई कुनै फाइदा नभएको चर्चाबारे पनि पुष्प र आँचलले आफ्नो भनाई राखे । आँचलले फिल्मलाई मिलेको राम्रो नराम्रो दुबै प्रतिक्रियालाई आत्मसात् गर्ने बताइन् । पुष्प भने देशका मुर्धन्य व्यक्तिबाट सिकेको ज्ञान आफ्नो लागि सबैभन्दा ठूलो उपलब्ध रहेको बताउँछन् ।

