केही दिनयता ‘प्रेमगीत ३’ को चर्चाले फिल्मवृत राम्रै तातेको छ । सफल फिल्मको तेस्रो सिरिज भएका कारण दर्शकमा फिल्मको प्रतिक्षा व्यग्र छ । तेस्रो पटक अभिनेता प्रदीप खड्का ‘प्रेम’ को भूमिकामा प्रस्तुत हुँदैछन् । उनको दाईको भूमिका नव-अभिनेता मनिष राउतले निर्वाहा गर्दैछन् । पुराना एक्सन स्टार शिव श्रेष्ठले पिताको भूमिका निभाउँदैछन् । उनको राजाको भूमिका छ ।
दशैंपछि छायांकन सुरु हुने फिल्मलाई छेतेन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गर्दैछन् । लभस्टोरी फिल्मको स्टोरी लेख्न माहिर मानिने छेतेनले फिल्म 'डमरुको डण्डीवियो' बाट निर्देशनमा हात हालेका थिए । सन्तोष भने 'प्रेमगीत' सिरिजका निर्माता हुन् । उनले 'प्रेमगीत २' मा नेगेटिभ रोल निभाएका थिए । तेस्रो पार्टमा पनि उनी भिलेनको रुपमा प्रस्तुत हुँदैछन् । फिल्म चैत २८ मा रिलिज हुँदैछ ।
(1).jpg)
प्रदीपको पिताको भूमिकाका लागि अभिनेता राजेश हमाललाई अफर गरेपछि दर्शकमा फिल्मप्रति झनै चासो बढेको थियो । तर, अन्तिम समयमा उनले व्यस्तताका कारण फिल्म गर्न सकेनन् र उनको ठाउँमा एक समय उनकै प्रतिस्पर्धी मानिने अभिनेता शिव श्रेष्ठ भित्रिए । 'राते काइला' उपनामले परिचित सुनिल थापाको समेत फिल्ममा प्रवेश भएको छ । अब, दर्शकलाई ‘गीत’ को प्रतिक्षा छ ।
'प्रेमगीत' को पहिलो श्रृंखलामा पूजा शर्मा ‘गीत’ बनेकी थिइन् । दोस्रो पार्टमा अश्लेषा ठकुरी बनिन् । अब, तेस्रो सिरिजमा ‘प्रेम’ को ‘गीत’ बन्ने भाग्यमानी युवती को हुनेछिन् ? दर्शकमा सर्वाधिक चासो छ । निर्माण टिमले ‘गीत’ क्यारेक्टरका लागि अडिसन आह्वान गरेको थियो, जसमा २७ सय बढीले आवेदन दिएका थिए । यसमध्येबाट निर्माण टिमले उत्कृष्ट २५ जना युवतीको नाम सार्वजनिक गर्यो ।
उत्कृष्ट २५ मा परेका युवतीहरुमा प्रायः फिल्ममा अभिनय गरिसकेका अभिनेत्रीदेखि म्यूजिक भिडियोका व्यस्त मोडलसम्म छन् । उनीहरुको निर्माण टिमले फाइनल अडिसन लिइसकेको छ । यसमध्ये उत्कृष्ट ६ युवती ‘गीत’ क्यारेक्टरका लागि 'परफेक्ट' रहेको निर्माता सेनको भनाई छ । तर, नाम गोप्य राखिएको छ । उनका अनुसार, केही दिनमा एक युवतीलाई ‘गीत’ क्यारेक्टरमा अनुबन्ध गरिनेछ ।
उत्कृष्ट २५ को 'सर्टलिस्ट' मा अभिनेता पल शाहसँग फिल्म 'हृदय भरी' मा रोमान्स गरेकी नव-अभिनेत्री श्रद्धा क्षेत्री पनि परेकी थिइन् । यो फिल्मको अझै छायांकन भइरहेको छ । फिल्ममा उनले मिस नेपालको भूमिका निभाएकी छन् । लामो समयदेखि भारतमा बसेर मोडलिङ गर्दै आइरहेकी श्रद्धाले हालै अनलाइनमार्फत् ‘प्रेमगीत ३’ मा ‘गीत’ क्यारेक्टरका लागि अडिसन दिएकी छन्, जुन भिडियो निर्माण टिमले युट्युबमा सार्वजनिक गरेको छ ।
भिडियोमा उनले नृत्य र ‘गीत’ बनेर अभिनय गरेकी छन् । धेरैले युट्युबको पब्लिक कमेन्टमा उनको नृत्य र अभिनयको प्रशंसा गरेका छन् । कमेन्टमा प्रदीपसँग उनको जोडी सुहाउने प्रतिक्रिया पनि थुप्रै देख्न सकिन्छ । केहीलाई भने उनको सुन्दरता र उचाईले लोभ्याएको छ । अब, ‘गीत’ बन्ने सौभाग्य चाहिँ श्रद्धाले पाउँछिन् वा गुमाउँछिन् ? यसका लागि भने केही दिन प्रतिक्षा गर्नैपर्ने हुन्छ ।
अडिसनको भिडियो हेर्नुहोस् :-

