अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ प्रेम सम्बन्धमा रहेको कुरा अब नौलो रहेन । करीब २ वर्षदेखि उनीहरु एकअर्काको प्रेममा रमाइरहेका छन् । बजारमा प्रेम चर्चा चल्न सुरु भए लगत्तै दुईले यो कुरा स्वीकार गरेका थिए । यसपछि उनीहरु न मिडियादेखि लुकेर हिँडे न त सामाजिक सञ्जालमा प्रेमिल तश्विर पोस्ट्याउन नै । केही समयदेखि सौगात र सृष्टि लिभिङ टूगेदरमा रहेको चर्चा छ ।
सृष्टि प्रायः इन्स्टाग्राममा सौगातसँग रमाइरहेको तश्विर साझेदार गरिरहेकी हुन्छिन् । तश्विर हेर्दा यस्तो लाग्छ, दुई प्रेमको नयाँ परिभाषा लेख्दैछन् । अरुलाई प्रेम गर्न सिकाउँदैछन् । प्रेम गर्नेहरुका लागि एक उदाहरणीय जोडी बन्न खोज्दैछन् । धेरैलाई उनीहरुको प्रेमले लोभ्याउने गरेको छ । प्रेमको काव्यिक गहिराइलाई बुझ्दै गएका सौगात र सृष्टि फिल्ममा समेत छुटिन सकेका छैनन् ।
(1).jpg)
फिल्म 'मासु भात' मा दुईले पहिलो पटक सहकार्य गरे । यो फिल्म रिलिज हुन बाँकी छ । यसपछि निर्देशक शिशिर राणाले दुईलाई फिल्म 'पोइ पर्यो काले' मा अनुबन्ध गरे । कात्तिक ८ गते यो फिल्म प्रदर्शनमा आउँदैछ । तेस्रो पटक पनि सौगात र सृष्टिबीच सहकार्य हुने भएको छ । निर्माणको क्रममा रहेको फिल्म ‘चपली हाइट ३’ मा सौगात फाइनल भइसकेका छन् ।
सृष्टिसँग भने अन्तिम चरणको वार्ता भइरहेको निर्माता अर्जुन कुमार बताउँछन् । केही दिनमा एक कार्यक्रमका बीच फिल्मको 'कास्ट एण्ड क्रियू' सार्वजनिक गर्ने उनले बताए । साउन दोस्रो साताबाट छायांकन सुरु हुने फिल्मलाई निकेश खड्काले निर्देशन गर्दैछन् । वास्तविक जीवनमा एक पल छुटिएर बस्न नसक्ने सौगात र सृष्टि अब फिल्ममा पनि अलग रहेर काम नगर्ने मनस्थितिमा देखिँदै गएका छन् ।
सौगातले आफूलाई अफर आएको फिल्ममा सृष्टिलाई लिड अभिनेत्रीमा लिन निर्माता/निर्देशकलाई आग्रह गर्ने गरेको चर्चा फिल्मवृतमा चल्न सुरु भएको छ । यसमा कति सत्यता छ त्यो त उनीहरु नै जान्दछन् । तर, एकपछि अर्को फिल्ममा दुईको सहकार्य हुनुले बजारको चर्चालाई सत्य प्रमाणित गरिरहेको छ । कतै दुईले फिल्ममा छुटिएर काम नगर्ने कसम त खाएका छैनन् ? बुझ्नै गाह्रो पर्यो !

