अहिलेका जल्दाबल्दा अभिनेता अनमोल केसीका लागि हेमराज विसी 'लक्की' निर्देशक हुन् । उनले फिल्म 'होस्टेल' मा हेमराजको एक्सन-कटमा काम गरे । फिल्म सुपरहिट भयो । दोस्रो पटक फिल्म 'गाजलु' मा सहकार्य भयो । यो फिल्मले पनि निर्माताको लगानी उठायो । अनमोललाई ‘स्टार’ बनाउनुको श्रेय हेमराजलाई दिने गरिन्छ । तर, अहिले दुईको सम्बन्ध ३६ को आँकडामा रहेको चर्चा छ ।
हेमराज र अनमोलबीच तेस्रो पटक पनि सहकार्य हुने फाइनल भएको थियो- फिल्म ‘ग्याङस्टर ब्लुज’ मा । अनमोलले यो फिल्म साइन समेत गरेका थिए । तर, पछि उनले स्क्रिप्टमा चित्त नबुझेको भन्दै 'साइनिङ एमाउन्ट' फिर्ता गरे । उनले हात झिकेपछि फिल्ममा हेमराजले आशिरमान देशराज जोशी लिए । फिल्म रिलिजपूर्व धेरैले उनलाई अनमोलको विकल्पको रुपमा हेरेका थिए ।
हेमराज पनि आशिरमानलाई अनमोलभन्दा ठूलो स्टार बनाउन चाहन्थे । तर, ‘ग्याङस्टर ब्लुज’ हलमा डब्बा भयो । न आशिरमानको अभिनयकै तारिफ भयो । तर, हेमराजले हार खाएनन् । फेरि आशिरमानको करिअर उकास्ने जिम्मा लिए । फिल्म ‘द ब्रेकअप’ उनलाई हिरो बनाए । यो फिल्मले पनि हलमा हावा खायो । ‘ग्याङस्टर ब्लुज’ भन्दा पनि ठूलो डिजास्टर साबित भयो ।
.jpg)
सहकार्य भएका दुई फिल्मले हलमा पानी भन्न नपाउँदा न हेमराजको आशिरमानलाई अनमोलभन्दा ठूलो स्टार बन्ने सपना पूरा भयो न त आशिरमानको करिअर नै उकासियो । झन् धराप भयो । ‘द ब्रेकअप’ पछि उनलाई कुनै मेकर्सले फिल्म अफर गरेको जानकारी छैन । लगातार दुई फिल्म असफल हुँदा उनलाई लिएर जोखिम मोल्न निर्माता तयार छैनन् । फिल्मवृतमा उनको करिअर संकटमा परेको चर्चा हुन थालेको छ ।
डेब्यू फिल्म रिलिजताका उनको चकलेटी लुक्सले धेरैलाई लोभ्याएको थियो । उनलाई ‘ग्याङस्टर ब्लुज’ रिलिज नहुँदै केही दर्शक र मिडियाले 'स्टार' को ट्याग समेत दिएका थिए । तर, अहिले उनलाई आफूलाई अभिनेताको रुपमा चिनाउन नै फलामको चिउरा चपाउनु सरह भएको छ । अनमोललाई 'स्टार' बनाएका निर्देशकले आफूलाई पनि 'स्टार' बनाउनेमा पूर्ण भर पर्दा आशिरमानको फिल्म करिअर यतिबेला यता न उताको भएको छ ।
यद्यपि, उनीबाट नेपाली फिल्म क्षेत्रले अझै आशा मारिसकेको छैन । शहरिया युवापुस्तामा क्रेज अझै जीवित भएका कारण राम्रो फिल्म छनोट गर्न सकेको खण्डमा उनको नेपाली फिल्म क्षेत्रमा सानदार उदय हुने कतिपयको विश्लेषण छ । यसका लागि आशिरमानले 'स्टार' निर्देशक नभइ राम्रो फिल्मको खोजी गर्न जरुरी छ । हतारको निर्णय लतार हुन्छ । यसैले उनले सम्यमित भएर पाइला चाल्न आवश्यक छ ।

