Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अन्योलमा विपिन !

फिल्मीखबर, काठमाण्डौ, 2019/06/21
रंगमञ्च हुँदै नेपाली फिल्ममा भित्रिएका विपिन कार्की अहिलेका सर्वाधिक डिमान्डेड अभिनेता मध्येका एक हुन् । भर्सटायल अभिनेताको रुपमा आफूलाई स्थापित गरिसकेका उनको नाम महँगो पारिश्रमिक बुझ्ने अभिनेताको सूचीमा समेत अग्रणी स्थानमा आउँछन् । अचेल उनले एक फिल्मबापत १७ देखि १९ लाखसम्म पारिश्रमिक बुझ्ने गरेको चर्चा छ । हाल उनी अभिनीत फिल्म ‘जात्रै जात्रा’ प्रदर्शनरत छ, छैटौं हप्तामा ।
 
यस फिल्मले घरेलु बजारमा लोभलाग्दो व्यापार गरिरहेको छ । ५१ दिने यात्रामा रहेको फिल्ममा उनको गरेको जबरजस्त अभिनयको अहिले सर्वत्र प्रशंसा भइरहेको छ । एउटा फिल्मले राम्रो व्यापार गरेपछि नेपाली कलाकारहरुको व्यस्तता खुबै बढ्छ । तर, विपिन भने फुर्सद छन् । उनले कुनै नयाँ फिल्म साइन गरेका छैनन् । अफर भने बाक्लै आइरहेका छन् । तर, अझै उनले कुन फिल्म गर्ने भन्ने निर्णय लिन सकेका छैनन् । 
 
यद्यपि, उनको पाइपलाइनमा दुई फिल्म छन्- ‘फनफनी’ र ‘परी’ । ‘फनफनी’ उनले फिल्म 'लालपूर्जा' रिलिजताका साइन गरेका थिए । तर, पछि उनले फिल्म छाडेको चर्चा चल्यो । अहिलेसम्म यसको छायांकन सुरु हुन सकेको छैन । ‘परी’ मा भने उनी ‘जात्रै जात्रा’ छायांकनमा रहँदा अनुबन्ध भएका थिए । यो फिल्म पनि निर्धारित समयमा छायांकनमा जान सकेन । दुई फिल्म निर्माण हुनेमा यतिबेला शंका उब्जन थालेको छ । 
 
 
‘जात्रै जात्रा’ को सफलताले हौसिएका विपिनले आफूले ‘फनफनी’ बाट हात नझिकेको भने स्पष्ट पारेका छन् । निर्देशकको रुपमा अनुबन्ध भएका निश्चल बस्नेतले हात झिकेपछि विपिनले पनि निर्माण टिमलाई पारिश्रमिक फिर्ता गर्दै फिल्म छाडेको चर्चा फिल्मवृतमा छ । तर, यसमा कुनै सत्यता नभएको उनी बताउँछन् । अब, आफू उक्त फिल्म गर्ने मनस्थितिमा रहेको फिल्मीखबरसँग फोनवार्तामा उनले बताए । 
 
उनी भन्छन्, 'यो फिल्म मैले छाडेको छैन । निश्चलले छाडेपछि मैले पनि छाड्नु पर्छ भन्ने छैन । मैले स्क्रिप्ट मन परेर गर्न तयार भएको हुँ । अझै एग्रिमेन्ट छ । टिमसँग मेरो निरन्तर कुरा भइरहेको छ । यसअघि कात्तिकमा फिल्मको छायांकन सुरु गर्ने तयारी भएको थियो तर मेरो व्यस्तताले हुन सकेन । अब चाँडै हुनसक्छ ।' निश्चलले हात झिकेपछि ‘जात्रै जात्रा’ निर्देशक प्रदीप भट्टराईलाई ‘फनफनी’ निर्देशनका लागि अफर गरिएको छ । 
 
फिल्मको 'क्याप्टेनसिप' निर्देशक प्रदीपले सम्हालेको खण्डमा अझ सुनमा सुगन्ध हुने विपिनको भनाई छ । तर, उनी आफू निर्देशक हेरेर फिल्म नगर्ने बताउँछन् । विपिन भन्छन्, 'हो, फिल्म राम्रो बन्नमा निर्देशकको महत्त्वपूर्ण भूमिका हुन्छ । तर, म निर्देशक हेरेर भने फिल्म गर्दिनँ । स्क्रिप्ट र आफ्नो भूमिका राम्रो भए गर्छु । नभए, जो निर्देशक भए पनि गर्दिनँ ।' उनी अब आफ्नो पाइपलाइनमा रहेको फिल्म भ्याएपछि मात्र नयाँ फिल्म साइन गर्ने सोचमा छन् । 
Most Visited News (monthly)