फेसबुक, ट्विटर, इन्स्टाग्राममा लाखौं फलोअर्स हुँदैमा कुनै कलाकारको क्रेज मापन हुँदैन । कलाकारको क्रेज सामाजिक सञ्जालमा साझेदार गरेको फोटोमा आउने लाइक्सले होइन, फिल्म हेर्न हल पुग्ने दर्शकको भीडले मापन गर्छ । नेपाली कलाकारहरु युट्युबमा आफ्नो अन्तर्वार्ता लाखौंले हेरेपछि गमक्क हुन्छन् । आफूलाई ‘सुपरस्टार’ ठान्छन् । तर, हलमा फिल्मले पानी भन्न नपाउँदा निर्माता तर्सिन्छन् ।
अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीकै कुरा गरौं न । उनीहरु केही वर्षयता प्रेम सम्बन्धमा छन् । खुल्लम खुल्ला प्रेममा रमाइरहेका दुईलाई सामाजिक सञ्जालमा पछ्याउनेको संख्या लोभलाग्दो छ । उनीहरुले संयूक्त रुपमा दिएका अन्तर्वार्ता हजारौं/लाखौंले हेर्छन् । तर, हलमा दुई अभिनीत फिल्म हेर्न दर्शक पिटिक्कै जाँदैनन् । तात्तातो उदाहरण गएको हप्ता प्रदर्शनमा आएको फिल्म 'प्रेम दिवस' हो ।
.jpg)
यो फिल्म यस वर्षको सबैभन्दा ठूलो डिजास्टर साबित भएको छ । फिल्मले भित्तामा पोस्टर टाँस्नका लागि बनाइएको माडको समेत पैसा उठाउन नसक्ने मुश्किल पर्ने देखिन्छ । प्रदर्शनको पहिलो दिनदेखि नै फिल्मलाई दर्शक अभाव भएको थियो । हप्ताभर यो अवस्था ज्यूँकात्यूँ रह्यो । मल्टीप्लेक्सले प्रियंका र आयुष्मानको अनुहार हेरेर हप्ताभरी एक शो दिए । तर, हलमा फिल्मको अकुपेन्सी २५ प्रतिशत पनि रहेन ।
दोस्रो हप्ताको शुक्रबारबाट राजधानीका अधिकांश मल्टीप्लेक्सले फिल्म उतारेका छन् । नयाँ फिल्म नभएका कारण केही सिंगल थिएटरमा भने फिल्म चलिरहेको छ । तर, दर्शकको चर्को अभाव छ । हलमा आयुष्मान र प्रियंकाको क्रेजको नामो-निशान देखिएको छैन । हुनत, दुईले रोमान्स गरेको भिडियो दैनिक टिभी र युट्युबमा आउँछन् । अनि, उनीहरुलाई नै हेर्न दर्शकले महँगो टिकट काटेर किन हलसम्म जाने कष्ट गरुन ?
प्रियंका र आयुष्मानको 'प्रेम दिवस' लाई दर्शकको प्रेम नमिल्नुले एउटा कुरा छर्लङ्ग पार्छ, ‘सामाजिक सञ्जालमा कुनै कलाकारको लाखौं फलोअर्स हुँदैमा र युट्युबमा अन्तर्वार्ता लाखौंले हेर्दैमा दर्शक फिल्म हेर्न हलसम्म जाँदैनन् । न त बजारमा प्रेम चर्चा हुँदैमा फिल्म चल्छ ।’ अब, यो कुरा प्रेम जोडी आयुष्मान र प्रियंकाले बुझ्न अत्यन्त जरुरी छ । आत्मरति र प्रायोजित प्रशंसामा रमाउने हो भने त बेग्लै कुरा ।

