Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

बोर्डले १० जना चलचित्रकर्मीलाई सम्मान गर्ने

फिल्मीखबर, काठमाण्डौ, 2019/06/20
चलचित्र विकास बोर्डले १९औं वार्षिकोत्सवको अवसरमा नेपाली चलचित्र क्षेत्रमा स्थापनाकालदेखि अहिलेसम्म विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका १० जना चलचित्रकर्मीलाई ‘चलचित्रकर्मी विशेष योगदान सम्मान-२०७६’ बाट सम्मानित गर्ने भएको छ । बोर्डका सदस्य दयाराम दाहालको संयोजकत्वमा सम्मानित व्यक्तिहरुको चयन कार्य सुरु भएको बोर्डले जनाएको छ । 
 
वि.सं. २०५७ साल असार १६ गते स्थापना भएको चलचित्र विकास बोर्डले हरेक वर्ष १६ असारलाई आफ्नो स्थापना दिवस मनाउँदै आएको छ । गत वर्षबाट सुरु भएको पुराना नेपाली चलचित्र तथा वृत्तचित्रहरुलाई डिजिटलाईजेशन गर्ने कार्य जारी रहेको र अहिलेसम्म १० वटा नेपाली कथानक चलचित्र डिजिटलाईजेशन भइसकेको बोर्डले एक विज्ञप्तीमार्फत् जानकारी गराएको छ । 
 
 
नेपाली चलचित्रको इतिहास बोकेका कालजायी चलचित्रलाई संरक्षण गरेर भावी पुस्तालाई सुम्पनु पर्ने दायित्व अनुरुप यसलाई डिजिटलाईजेशन गरिएको बोर्डको भनाई छ । डिजिटलाईजेशन तथा रेस्टोरेशन गरिएका चलचित्रहरुका केही दृश्यहरु बोर्डको वार्षिकोत्सवको अवसरमा प्रदर्शन पनि गरिने बोर्डका अन्तर्राष्ट्रिय सम्बन्ध अधिकृत चिरञ्जिवी गुरागाईंद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ । 
 
यस्तै, चलचित्र विकास बोर्डले गएको एक वर्षमा गरेका कार्यविवरण र आउँदो आर्थिक वर्षसम्म गरिने भावी योजनाबारे पनि वार्षिकोत्सवको अवसरमा प्रकाश पारिने जारी विज्ञप्तीमा भनिएको छ । तर, लामो समयदेखि रोकिएको बोर्डको स्थापना दिवसका अवसरमा प्रदान गरिने 'राष्ट्रिय चलचित्र पुरस्कार' यस पटक पनि नहुने भएको छ । चलचित्र विकास बोर्डको अध्यक्षको कुर्सीमा केशव भट्टराई छन् । 
Most Visited News (monthly)