अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको फिल्म करिअर खासै सुखद रहन सकेको छैन । आयुष्मानले दीपेन्द्र के. खनाल निर्देशित हिट फिल्म 'चपली हाइट' को दोस्रो सिरिजबाट डेब्यू गरे । फिल्म बक्सअफिसमा पत्तासाफ भयो । न उनको अभिनय रुचाइयो । यसपछि उनले फिल्म 'कथा काठमाण्डू' गरे । यो फिल्मको हविगत उनको डेब्यू फिल्मभन्दा पनि टिठलाग्दो भयो ।
फिल्म बक्सअफिसमा डुबे पनि उनको जीवनमा अभिनेत्री प्रियंका कार्कीको आगमन भयो । अहिले उनी प्रेम जीवनका कारण चर्चामा छन् । प्रियंकासँग उनले फिल्म 'चंगा चेट' मा पनि काम गरे । यो फिल्मले घरेलु बजारबाट लगानी सुरक्षित गर्न सफल भए पनि क्रेडिट आयुष्मानले पाएनन् । अब, उनको नयाँ फिल्म ‘सानो मन’ आउँदो असार २० गतेबाट प्रदर्शनमा आउँदैछ । यो फिल्म उनका लागि निकै महत्त्वपूर्ण मानिएको छ ।
(2).jpg)
यस फिल्मकी लिड अभिनेत्री शिल्पा मास्केको करिअर पनि पानी विनाको माछाझैँ छटपटिरहेको छ । गत वर्ष निकै कम समयको अन्तरमा उनको दुई फिल्म रिलिज भयो- 'द ब्रेकअप' र 'कागजपत्र' । तर, दुबै फिल्मले हलमा पानी भन्न पाएनन् । यद्यपि, फिल्म 'द ब्रेकअप' मा उनको अभिनयको राम्रै प्रशंसा भएको थियो । एक हलिउड फिल्ममा अभिनय समेत गरिसकेकी उनलाई अब ‘सानो मन’ माथि ठूलो भरोसा छ ।
यो फिल्म सफल भए उनको फ्लप यात्रामा पूर्णविराम लाग्नेछ । नभए, फ्लप फिल्ममा ह्याट्रिक गर्नेछिन् । यसकारण ‘सानो मन’ शिल्पाको करिअरका लागि एकदमै महत्त्वपूर्ण मानिएको छ । यस फिल्मको एक गीत र ट्रेलर सार्वजनिक भइसकेको छ । युट्युबमा दर्शकले आयुष्मान र शिल्पाको जोडी राम्रै रुचाएका छन् । अब, हलमा फिल्मले दर्शकको साथ कस्तो पाउला ? यसका लागि केही दिन अझै प्रतिक्षा गर्नैपर्ने छ ।
फिल्मको निर्देशन सुयोग गुरुङले गरेका हुन् । उनको यो डेब्यू निर्देशित फिल्म हो । गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुकोे पनि यसमा अभिनय छ । यो फिल्मको कथा समिर सुनवार र निर्देशक गुरुङले लेखेका हुन् । भने, निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर छन् । यसमा आलोक शुक्लाले छायांकन छ ।

