नेपाली फिल्मकर्मीको बोलीमा झ्याप्पै विश्वास गर्दैनन् दर्शक । किनभने, यहाँ सबै बोली पूरा गर्न भन्दा तोड्न बढी रमाउँछन् । अभिनेता अनमोल केसीले वर्षमा एक वा दुईवटा फिल्म गर्ने तर रिलिज अन्तर ६ महिना वा एक वर्षको हुने बोले । तर, गएको वर्ष उनी अभिनीत दुई फिल्म डेढ महिनाको अन्तरमा रिलिज भए । यस्तै, अभिनेता आर्यन सिग्देलले 'नोभेम्बर रेन' पछि कहिल्यै बाहिरी ब्यानरको फिल्म नगर्ने घोषणा गरे । अहिले भटाभट बाहिरी ब्यानरको फिल्म गरेर फुर्सद छैन ।
घोषणा भएका फिल्म बन्न नसक्दा पनि फिल्ममेकरप्रति दर्शकको विश्वास गुम्दो छ । नेपालमा धुमधामले घोषणा गरिएका फिल्म थन्किएका उदाहरणहरु थुप्रै छन् । कति निर्माता-निर्देशकको द्वन्द्वले बनेनन् । कति कलाकारसँग असमझदारी उत्पन्न हुँदा थन्किए । गत वर्षको मंसिरमा घोषणा भएको फिल्म ‘परी’ भने के कारणले थन्कियो ? वा, बन्ने प्रक्रियामै छ ? दर्शकमा चासो हुन थालेको छ । फिल्मको बैशाखबाट छायांकन सुरु हुने बताइएको थियो ।
(1).jpg)
म्यूजिक भिडियो सम्पादक तथा निर्देशक निशान कश्यपले निर्देशन गर्ने फिल्ममा अभिनेता विपिन कार्की र नव-अभिनेत्री श्रृष्टि खड्काको प्रमुख भूमिकामा अनुबन्ध भएका थिए । फिल्मको घोषणा भएको केही हप्तामा अभिनेता विपिनको बाइक दुर्घटनामा खुट्टा भाँचियो । यसले फिल्म 'जात्रै जात्रा' को छायांकन समेत प्रभावित भयो । विपिन निको भएर यो फिल्मको छायांकन सके । हाल 'जात्रै जात्रा' प्रदर्शनरत छ । तर, अझै ‘परी’ बन्ने छाँटकाँट देखिएको छैन ।
बैशाखबाट सुरु हुने भनिएको छायांकन असार लाग्दा समेत सुरु हुन नसक्नुले फिल्म घोषणामै सीमित भएको चर्चा चल्न थालेको छ । अभिनेता विपिन मुख्य भूमिकामा अनुबन्ध भएका कारण धेरैलाई यस फिल्मप्रति चासो थियो/छ । ‘परी’ गर्भमै तुहिएको हो वा दर्शकले हलमा हेर्न पाउँछन् ? यसको जवाफ त निर्देशक निशानसँग नै होला । कतै उनलाई फिल्म थन्किएको भन्ने स्वीकार गर्न आफ्नो इगोले नदिएको त होइन ? उनै जानुन् ।
यो फिल्मका लागि विपिनले महँगो पारिश्रमिक बुझेको चर्चा छ । उनी 'जात्रै जात्रा' पछि ‘परी’ मा आबद्ध हुने तयारीमा थिए । फिल्मीखबरलाई स्रोतले दिएको अनुसार, उक्त फिल्म बन्ने वा नबन्ने अन्योल रहँदा विपिनले हालै एक नयाँ फिल्म साइन गरेका छन् । 'जात्रै जात्रा' निर्देशक प्रदीप भट्टराईसँग पनि उनको फेरि टिमअप हुने चर्चा छ । उनी अर्को फिल्ममा आबद्ध भएको खण्डमा ‘परी’ निर्माण झन् अन्योलतर्फ धकलिने देखिन्छ ।

