
'उडता पञ्जाब', 'विवाह', 'जब वी मेट' र 'इश्क-विश्क' जस्ता फिल्ममा आफ्नो जीवन्त अभिनयबाट दर्शकको प्रिय अभिनेता बनेका शाहिद कपूर शुक्रबार फिल्म 'कबीर सिंह' लिएर आउँदैछन् । यसमा उनको अपोजिटमा कियारा आडवाणी छिन् । यो फिल्म शाहिदको करिअरका लागि एकदमै महत्त्वपूर्ण मानिएको छ । यस फिल्मको गीतसंगीत र ट्रेलर अहिले निकै चर्चामा छ ।
आफ्नो करिअरमा थुप्रै हिट फिल्म दिएका उनको हात अहिले खाली छ । हालै एक अन्तर्वार्तामा उनले यो कुराको खुलासा गरे । उनले आफू 'कबीर सिंह' पछि खाली रहेको बताएका छन् । तर, चाँडै शाहिद बक्सर डिंग्को सिंहको फिल्ममा देखिने सम्भावना प्रवल छ । शाहिदलाई 'कबीर सिंह' पनि असफल भएको खण्डमा ठूलो झट्का लाग्ने फिल्म पण्डितहरुको विश्लेषण छ ।
'पद्मावत' जस्तो जबरजस्त हिट फिल्ममा महत्त्वपूर्ण भूमिका निभाएर पनि शाहिदलाई क्रेडिट मिलेन । अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंहको छाँयामा परे, उनी । फिल्म 'उडता पञ्जाब' र 'हैदर' मा उनको अभिनयको चर्चा भयो । तर, फिल्मले राम्रो व्यापार गरेनन् । अब, 'कबीर सिंह' पनि असफल भए शाहिदका लागि आगामी दिन थप कष्टकर हुने देखिन्छ ।
यो फिल्म सफल भए उनले अझै सोलो फिल्म पाउन सक्नेछन् । नभए, मल्टीस्टारर फिल्ममा चित्त बुझाउनुबाहेक अरु विकल्प नरहन सक्छ । यसकारण 'कबीर सिंह' शाहिदको करिअरका लागि बक्सअफिसमा सफल हुन एकदमै जरुरी छ । यस फिल्मले उनको साख जोगाउँछ वा गिराउँछ ? धेरैलाई चासो छ । फिल्मलाई सन्दीप वांगाले निर्देशन गरेका हुन् ।

