नेपालमा विदेशी फिल्मको दबदबा चर्को छ । आशा गरिएका हलिउड वा बलिउड फिल्मले नेपालमा करोडौं छापेका उदाहरण छन् । नेपाली दर्शकहरु पनि आफ्नै मुलुकको फिल्मभन्दा विदेशी फिल्मप्रति नै बढी चासो राख्ने गर्दछन् । नेपाली फिल्म भनेपछि नाक खुम्च्याउन अझै छाडेका छैनन् । यसको प्रमुख कारण नेपालमा गुणस्तरिय कम पट्यारलाग्दा फिल्मको बोलबाला बढी छ ।
नेपाली फिल्मले घरेलु दर्शक आकर्षित गर्न चुकिरहेको अवस्थामा विदेशी फिल्मले नेपालमा आफ्नो बजार बलियो बनाउँदै गएको छ । मल्टीप्लेक्सको विस्तार भएसँगै नेपालमा अझ विदेशी फिल्मले प्रभुत्व बढ्दो छ । यसैले त प्रतिक्षीत विदेशी फिल्मसँग भिड्न तयार हुँदैनन् नेपाली फिल्मका निर्माताहरु । हलमा पानी पनि भन्न नपाउने अवस्था सृजना हुनुभन्दा लाखापाखा लाग्नु नै निको ठान्दछन् ।
.jpg)
फिल्म 'दाल भात तरकारी' तात्तातो उदाहरण हो । हलिउडको बहुप्रतिक्षीत फिल्म 'एभेञ्जर : इन्ड गेम' को डरले यो फिल्म पूर्वघोषित मितिभन्दा एकहप्ता पछि सर्यो । फिल्म 'जात्रै जात्रा' पनि बलिउड फिल्म 'स्टूडेन्ट अफ दि ईयर २' का कारण एकहप्ता पछि सरेको थियो । अब, साउन ३० गते प्रदर्शनमा आउन लागेका दुई नेपाली फिल्म ‘हजार जुनीसम्म’ र ‘दयारानी’ पनि एक विदेशी फिल्मका कारण कुना पस्ने सम्भावना बढेको छ ।
यो मितिमा साउथका सुपरस्टार प्रभास अभिनीत बहुप्रतिक्षीत फिल्म ‘साहो’ रिलिज हुँदैछ । गएको पाँच दिन अगाडि यस फिल्मको धमाकेदार टीजर सार्वजनिक भयो । हिन्दीसहित यो फिल्म चार भाषामा बनेको छ । ‘बाहुबली २’ पछि पर्दामा फर्किन लागेका प्रभास स्टारर यस फिल्मको नेपालमा व्यग्र प्रतिक्षा भइरहेको छ । बलिउड अभिनेत्री श्रद्धा कपूरको पनि यसमा अभिनय छ । फिल्मलाई सुजीतले निर्देशन गरेका हुन् ।
यो फिल्मले साउन ३० गतेलाई प्रदर्शन मिति घोषणा गर्दै टीजर सार्वजनिक गरेपछि सोही मितिमा प्रदर्शनका लागि तयार भएका दुई नेपाली फिल्म ‘हजार जुनीसम्म’ र ‘दयारानी’ का निर्मातालाई ठूलो तनाव आइरहेको छ । दुबै फिल्मका निर्माता प्रदर्शन मिति सार्ने मनस्थितिमा रहेको स्रोत बताउँछ । तर, अहिलेसम्म आधिकारिक जानकारी प्राप्त भएको छ । सम्भवतः दुई फिल्म आउँदो तीजकोे छेकोमा रिलिज हुन सक्नेछन् ।

