साउथको ब्लकबस्टर फिल्म हो- ‘बाहुबली’ । यो फिल्मको दुई पार्ट्स प्रदर्शनमा आइसकेको छ । अब सबै यसको तेस्रो पार्ट्सको प्रतिक्षामा छन् । सुपरहिट फिल्म ‘बाहुबली’ मा प्रमुख भूमिका निभाएकी अभिनेत्री तमन्ना भाटियालाई सधैं ‘बाहुबली’ को तेस्रो पार्ट्सको बारेमा प्रश्न सोध्ने गरिन्छ । फिल्ममा उनले साउथ सुपरस्टार प्रभाससँग रोमान्स गरेकी थिइन् ।
‘बाहुबली’ को तेस्रो पार्ट्सलाई लिएर उनले एक अन्तर्वार्तामा कुराकानी गरेकी छन् । बलिउड लाइफसँगको कुराकानीमा ‘बाहुबली ३’ बारे सोधिएको प्रश्नमा तमन्नाले भनिन्, 'मलाई सधैं ‘बाहुबली’ को तेस्रो पार्ट्स कहिले बन्छ भनेर सोध्ने गरिन्छ । तर, यो फिल्मको तेस्रो पार्ट कहिल्यै बन्दैन र यदी बन्यो भने पनि सिर्फ एसएस राजामौलीले मात्र बनाउन सक्नेछन् ।'

राजामौली निर्देशित फिल्म ‘बाहुबली’ को दुबै पार्टमा अभिनेता प्रभासको प्रमुख भूमिका थियो । अनुष्का शेट्टी, राणा डग्गुबती, रमैया कृष्णन, सत्यराजलगायतका कलाकारहरुले पनि दुबै पार्टमा महत्त्वपूर्ण भूमिका निभाएका थिए । फिल्मले बक्सअफिसमा सानदार व्यापार गरेको थियो । यो बक्सअफिसमा रेकर्डतोड व्यापार गर्ने फिल्ममा पर्दछ ।
गएको शुक्रबारबाट ‘बाहुबली’ फेम्ड अभिनेत्री तमन्नाको फिल्म 'खामोशी' रिलिज भएको छ । फिल्ममा उनीसँगै चर्चित डान्स कोरियोग्राफर प्रभुदेवाको पनि प्रमुख भूमिका छ । यसमा नन्दिता स्वेथा, डिम्पल हयाती, कोवई सरला, आरजी बालाजीको पनि अभिनय छ । तमन्नाले दर्जनौं साउथ फिल्मसँगै बलिउड फिल्ममा पनि काम गरिसकेकी छन् ।

