नाम आफैंमा ब्रान्ड बनिसकेको छ, ‘प्रेमगीत’ । यो फिल्म व्यापारिक रुपमा असफल भए पनि समीक्षात्मक रुपमा सफल साबित भएको थियो । दर्शकले पनि औधि रुचाएका थिए । सुदर्शन थापा निर्देशित तथा सन्तोष सेन निर्मित यस फिल्मबाट दुई ‘स्टार’ पनि जन्मिए- अभिनेता प्रदीप खड्का र अभिनेत्री पूजा शर्मा । केही समययता दुईले नेपाली फिल्ममा आफ्नो बलियो साम्राज्य खडा गरेका छन् । दुबैको लोभलाग्दो डिमान्ड छ ।
यो फिल्मको दोस्रो पार्टले पनि दर्शकको मन जित्यो । निर्माता सेनको खल्तीमा पनि मुनाफाको मोटै रकम पर्यो । अब, उक्त फिल्मको तेस्रो सिरिज निर्माण हुँदैछ । आउँदो दशैंपछि फिल्मको छायांकन सुरु हुँदैछ । फिल्ममा तेस्रो पटक पनि अभिनेता प्रदीप खड्का प्रमुख भूमिकामा हुनेछन् । उनको अपोजिटका लागि केही दिनयता निर्माण टिम अभिनेत्री अर्थात् ‘गीत’ को खोजीमा छ । फिल्मको रिलिज डेट चैत २८ गतेलाई लक छ ।
.jpg)
छेतेन गुरुङ र सन्तोष सेनले संयूक्त रुपमा निर्देशन गर्ने फिल्म २ सय वर्ष पुरानो प्रेमकथामा आधारित हुने बताइएको छ । यस फिल्मका लागि केही हप्तादेखि अभिनेता प्रदीप जिममा पसिना बगाइरहेका छन् । अफर भएका थुप्रै फिल्म लत्याएर अहिले उनको पूरै ध्यान यस फिल्ममाथि केन्द्रित छ । धेरैलाई ‘प्रेमगीत ३’ मा उनको अपोजिटमा फाइनल हुने युवतीको प्रतिक्षा छ । केही दिनमा ‘गीत’ क्यारेक्टरका लागि एक युवती छानिने निर्माता सेन बताउँछन् ।
फिल्ममा अभिनेता प्रदीपको पिताको भूमिका अभिनेता राजेश हमाललाई अफर गरिएको छ । हमालले स्क्रिप्ट मन पराएका छन् । तर, पिताको भूमिका भएका कारण उनी फिल्म गर्न आनाकानी गरिरहेका छन् । अभिनेता प्रदीपसहित फिल्मको टिम बारम्बार उनीसँग भेट गरिरहेको छ । केही दिन अगाडि होटल सांग्रिलामा हमाल र प्रदीपको फिल्मलाई लिएर भेट भएको थियो । हमालले चाँडै आफ्नो निर्णय दिने स्रोत बताउँछ ।
‘प्रेमगीत ३’ मा भिलेनको भूमिकामा को होला भन्ने उत्सुकता पनि फिल्मप्रेमी दर्शकमाझ उतिक्कै छ । ‘प्रेमगीत २’ मा निर्माता सन्तोष सेनले नै नेगेटिभ रोल गरेका थिए । प्रदीपसँग उनको लडाईं जबरजस्त थियो । यस फिल्मको तेस्रो पार्टमा पनि सन्तोष नै भिलेनको भूमिकामा प्रस्तुत हुने भएका छन् । उनी स्वयंले यसको जानकारी दिए । उनी भन्छन्, ‘दर्शकले मलाई भिलेनको रुपमा मन पराउनुभएको छ । यसैले फेरि भिलेन बन्न लागेको हुँ ।’

