गायिका तारादेवीले गाएको एक चर्चित गीत छ, ‘सोचे जस्तो हुन्न जीवन । सम्झे जस्तो हुन्न जीवन ।’ गीतमा भनेझैँ जीवन कहिल्यै सोचे र सम्झे जस्तो हुन्न । सोचेजस्तै जीवन हुने भए संसारमा दुखी व्यक्ति सायदै भेटिन्थे । रहरहरु कसैका अपुरा हुँदैन थिए । असफलतासँग कसैले घम्साघम्सी गर्नु पर्दैन थियो । यसैले भनिएको हुनसक्छ- 'जीवन एउटा यात्रा हो । कहिले सुःख त कहिले दुःख ।'
तारादेवीले गाएको गीतझैँ अभिनेत्री वर्षा सिवाकोटीको करिअर पनि सोचे जसरी अगाडि बढ्न सकेको छैन । जुन फिल्म गरे पनि असफल मात्र भइरहेका छन् । नाम नै ब्रान्ड बनिसकेको फिल्म 'नाईं नभन्नू ल २' बाट उनले अभिनय यात्रा सुरु गरेकी थिइन् । यो फिल्म बक्सअफिसमा हिट भए पनि श्रेय उनले पाइनन् । न त अभिनयकै प्रशंसा भयो । यसपछि उनले फिल्म 'पशुपति प्रसाद' गरिन् । यसमा पनि हालत उस्तै ।
फिल्मले बक्सअफिसमा राम्रो पैसा छापे पनि संवादविहीन छोटो भूमिका भएका कारण वर्षाको कुनै चर्चा भएन । यसपछि उनले लगातार फिल्म गरिरहेकी छिन् । तर, उनकै भाषामा भन्ने हो भने गर्नका लागि गरेको जस्तो मात्र भइरहेको छ । कुनैले वर्षाको करिअर सम्हाल्न सकेका छैनन् । झन् भत्काइरहेका छन् । यद्यपि, उनको हातमा फिल्म भने टुटेको छैन । अनुबन्ध भइसकेको केही फिल्म समेत छाडिसकेकी छन्, उनले ।
 2(1).jpg)
म्यूजिक भिडियोमा डिमान्डेड वर्षा विभिन्न अभिव्यक्तिका कारण बाक्लै मिडियाको लाइमलाइटमा पर्ने गरेकी छन् । उनमा के गर्दा दर्शक र मिडियाको ध्यान आफूतिर तान्न सकिन्छ भन्ने कुराको राम्रो ज्ञान छ । बजारमा आफ्नो चर्चा भइरहोस् भन्ने चाहिन्छन्, उनी । हुनत, हरेक कलाकार यही चाहन्छन् । नेपाली फिल्म क्षेत्रमा एउटा उखानै छ नी, 'बदनाम हुनु तर गुमनाम नहुनु ।' वर्षा गुमनाम हुन चाहन्नन् ।
उनी जेठ ३ गते प्रदर्शनमा आएको फिल्म 'बीर विक्रम २' ले आफ्नो फ्लप यात्रा टुंग्याउनेमा पूर्ण आशावादी थिइन् । किनकि, उनी फिल्मकी सोलो हिरोइन थिइन् । फिल्मको मूल कथा नै उनकै वरिपरि घुमेको थियो । ‘स्क्रिन स्पेस’ अभिनेता द्वय पल शाह र नाजिर हुसेन बराबरकै थियो । भूमिका सशक्त थियो । उनले अभिनय पनि राम्रै गरेकी थिइन् । तर, पट्यारलाग्दो कथा र प्रस्तुतीका कारण फिल्मले दर्शक रिझाउन सकेन ।
'वर्ड अफ माउथ' कमजोर हुँदा फिल्म हलमा लामो रेसको घोडा बन्न असफल रह्यो । प्रदर्शनको दुई हप्तामा नै फिल्म हलबाट उत्रियो । निकै आशा गरेको फिल्म असफल हुँदा वर्षालाई नपर्नुको पीडा भएको छ । एकपछि अर्को फिल्मले फ्लप यात्रालाई निरन्तरता दिँदा उनी अब पलायन हुनसक्ने चर्चा पनि फिल्मवृतमा सुरु हुन थालेका छन् । हुनत, बक्सअफिस नतिजा कहाँ आफूले सोचे जस्तो हुन्छ र ! बरु, अब संख्या बढाउनका लागि मात्र फिल्म नगर्ने कि वर्षाजी ?

