
केही समयदेखि बलिउडका मिस्टर परफेक्सनिस्ट आमिर खान आफ्नो नयाँ फिल्म ‘लाल सिंह चड्ढा’ लाई लिएर चर्चामा छन् । यसबीच, फिल्ममा लिड अभिनेत्रीको नामलाई लिएर ठूलो खुलासा भएको छ । यो फिल्मको घोषणा आमिरले आफ्नो जन्मदिनको अवसरमा गरेका थिए । तर, अहिलेसम्म कास्टिङमा काम भइरहेको छ ।
भारतीय मिडियाका अनुसार, यस फिल्ममा आमिरको 'थ्री इडियट' जोडी करीना कपूरको इन्ट्री भएको छ । केही दिन अगाडि उनी ‘लाल सिंह चड्ढा’ मा अनुबन्ध भएको जानकारी प्राप्त छ । यद्यपि, यसबारेमा आमिरले कुनै जानकारी दिएका छैनन् । केही दिनमा फिल्ममा करीनाको प्रवेश भएको जानकारी दिएर निर्माण टिम फ्लोरमा निस्कने तयारीमा छ ।
'थ्री इडियट' मा आमिर र करीनाको जोडीलाई दर्शकले निकै रुचाएका थिए । यी दुईले फिल्म 'तलास' मा पनि सँगै काम गरेका थिए । फेरि दुईलाई पर्दामा हेर्न पाउनु दर्शकलाई कुनै ट्रीटभन्दा कम हुने छैन । ‘लाल सिंह चड्ढा’ मा करीनाको महत्त्वपूर्ण भूमिका रहेको बताइएको छ । उनी आमिरको श्रीमतीको भूमिकामा प्रस्तुत हुन सक्नेछिन् ।
आमिर खानको यो फिल्म हलिउड स्टार टम ह्याक्सको फिल्म 'फरेस्ट ग्याम्प' को हिन्दी रिमेक हो । यो फिल्मले अस्कार अवार्ड जितेको थियो । यस फिल्मका लागि अहिले आमिरले जमेर मेहनत गरिरहेका छन् । करीना भने केही हप्तायता 'अंग्रेजी मीडियम' फिल्मको छायांकनका लागि लण्डनमा छिन् । यसपछि उनी एक टिभी शोमा व्यस्त हुँदैछिन् ।

