Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(52 votes, avg 4.85/5.00)
Text size:-
+
-

अदालतले खारेज गर्‍यो ‘भारत’ को लागि दिएको ‘स्टे अर्डर’

फिल्मीखबर, काठमाण्डौ, 2019/06/15
नेपाली फिल्म ठूला चाडपर्वबाहेक अरु समयमा शुक्रबारमात्र रिलिज गर्नुपर्ने नियम छ । यो नियम विदेशी फिल्मका लागि पनि लागू हुने भन्दै चलचित्र विकास बोर्डले भारतमा बुधबार प्रदर्शनमा आएको फिल्म 'कलंक' लाई सोही दिन नेपाल रिलिज गर्न रोक्यो । फिल्म शुक्रबार रिलिज भयो । ईदको अवसरमा बुधबार संसारभर प्रदर्शनमा आएको बलिउड सुपरस्टार सलमान खान स्टारर फिल्म ‘भारत’ पनि शुक्रबार नेपाल रिलिज गर्नुपर्ने निर्णयमा बोर्ड अडिक थियो ।
 
तर, वितरक कम्पनी ब्याङ्कटेस इन्टरटेन्मेन्टका मनोज राठीले काठमाडौं जिल्ला अदालतमा विदेशी फिल्म शुक्रबारमात्र रिलिज गर्नुपर्ने बोर्डको निर्णय विरुद्ध रिट दायर गरे । अदालतले पनि उनको पक्षमा फैसला सुनाउँदै स्वतन्त्र व्यवसायमाथि हस्तक्षेप नगर्न बोर्डलाई सचेत गरायो । साथै, 'भारत' बुधबार नै नेपाल रिलिज गर्न दिन आदेश थियो । अदालतको आदेशसँगै विदेशी फिल्म नेपालमा जुनसुकै दिन प्रदर्शनका लागि खुल्ला भयो ।
 
ठूला बजेटका विदेशी फिल्म जुनसुकै दिन प्रदर्शनमा आउँदा नेपाली फिल्मलाई मार पर्ने भएकाले बोर्डले सबै भाषाका फिल्म शुक्रबार मात्र रिलिज गर्नुपर्ने निर्णय गरेको थियो । तर, अदालतको आदेशले बोर्डको निर्णयमा ठूलो धक्का पुग्यो । अदालतको ‘स्टे अर्डर’ पछि बोर्डले 'भारत' बुधबार नै नेपाल रिलिजका लागि बाटो खोलिदिएपछि काठमाडौं जिल्ला अदालतलाई स्पष्टिकरण पठायो । 
 
 
बोर्डले दिएको स्पष्टिकरणको आधारमा काठमाडौं जिल्ला अदालतले शुक्रबार 'भारत' का लागि दिएको ‘स्टे अर्डर’ खारेज गरेको छ । अदालतले उक्त निर्णय खारेज गरेसँगै सोही प्रकृतिका मुद्धाहरु अब अदालतमा नजाने विकास बोर्डले जनाएको छ । 'भारत' बुधबार प्रदर्शनका लागि वितरक राठीले एक पक्षिय तरिकाले काठमाडौं जिल्ला अदालतमा मुद्धा दर्ता गरेका थिए र अदालतले त्यसको पूर्ण कारवाहीलाई थाती राख्दै ‘स्टे अर्डर’ दिएको थियो । 
 
विकास बोर्डको स्पष्टिकरणपछि अदालतले उक्त मुद्धालाई पूर्ण रुपमा कारवाही गर्दै ‘स्टे अर्डर’ खारेज गरेको हो । अदालतले ‘स्टे अर्डर’ बदर गरेसँगै अब सबै भाषाका फिल्म शुक्रबारमात्र रिलिज हुने बोर्ड अध्यक्ष केशव भट्टराईले जानकारी दिए । उनी भन्छन्, ‘एउटा घटनाबाट सबै निर्माता र वितरकले पाठ सिक्न जरुरी छ । यो घटना कसैको फाइदा र बेफाइदाको लागि हैन । समग्र नेपाली फिल्मको पक्षमा, नेपाली फिल्मको हितमा भएको हो ।’ 
 
अध्यक्ष भट्टराईले बोर्डले खुल्ला व्यापार नीतिलाई ध्यानमा राखेको पनि बताए । उनी अगाडि भन्छन्, ‘कुनै पनि विदेशी फिल्म हामी रोक्दैनौं । तर, नेपाली फिल्मलाई असर नहुने गरि रिलिज गर्ने प्रक्रिया सुरु गर्ने बोर्डको चाहना हो । अब सबै भाषाका फिल्म शुक्रबारमात्र रिलिज हुनेछन् ।’ अदालतले विदेशी फिल्म जुनसुकै समयमा प्रदर्शन गर्न दिन बोर्डलाई दिएको ‘स्टे अर्डर’ बदर गरेपछि फिल्मकर्मीमा खुसीयाली छाएको छ । 
Most Visited News (monthly)