Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

‘भारत’ र ‘जात्रै जात्रा’ दुबैको शो घट्यो

फिल्मीखबर, काठमाडौं, 2019/06/13
नेपालमा गएको बुधबार प्रदर्शनमा आएको बलिउड सुपरस्टार सलमान खान अभिनीत फिल्म ‘भारत’ ले प्रदर्शनरत नेपाली फिल्म ‘जात्रै जात्रा’ को व्यापारमा ठूलो असर गर्‍यो । ‘भारत’ लाई मल्टीप्लेक्सहरुले उच्च शो बाँड्दा ‘जात्रै जात्रा’ न्यून शोमा खुम्चिनु परेको थियो । नेपालमा प्रदर्शनको केही दिन सलमानको फिल्मले राम्रै पैसा छाप्यो । तर, ‘वर्ड अफ माउथ’ कमजोर हुँदा फिल्मको व्यापार नराम्रोसँग खस्किएको छ । 
 
प्रदर्शनको पहिलो दिन यो फिल्मलाई नेपालको ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले ३५ भन्दा बढी शो उपलब्ध गराएको थियो । तेस्रो हप्तामा २१ शोमा सफल प्रदर्शन गरिरहेको ‘जात्रै जात्रा’ ७ शोमा झर्‍यो । ‘भारत’ लाई राम्रो प्रतिक्रिया नमिलेपछि यसको फाइदा ‘जात्रै जात्रा’ ले उठाउने कतिपयको विश्लेषण थियो । तर, यो हुन सकेन । शुक्रवार (भोली) बाट ‘जात्रै जात्रा’ ले पाँचौ हप्ता र ‘भारत’ ले दोस्रो हप्तामा प्रदर्शन सुरु गर्दैछ । 
 
 
दोस्रो हप्तामा ‘भारत’ को शो निकै घटेको छ । क्यूएफक्सले यसलाई प्रदर्शनको पहिलो दिनको तुलनामा आधाभन्दा कम शो बाँडेको छ । क्यूएफक्सले राजधानीको आफ्नो पाँच स्टेशनमा १४ शो उपलब्ध गराएको छ । यसबाट नै फिल्मले नेपालमा पहिलो हप्ता कमजोर व्यापार गरेको पुष्टि हुन्छ । तर, यो फिल्मको शो घटे पनि ‘जात्रै जात्रा’ को शो बढेको छैन । झन् घटेको छ । चौथो हप्तामा ७ शोमा चलिरहेको फिल्म पाँचौ हप्तामा ५ शोमा झरेको छ । 
 
हुनत, प्रदर्शनको पाँचौ हप्तामा पनि मल्टीप्लेक्समा फिल्मले पाँच शो पाउनु सानो कुरा होइन । प्रायः नेपाली फिल्म हलमा एक हप्ता पनि टिक्न सक्दैनन् । आशा गरिएका कुनै ठूला फिल्म रिलिज नभएका कारण प्रायः सिंगल थिएटरमा भने ‘जात्रै जात्रा’ को अझै एकलौटी राज छ । शुक्रबारबाट 'प्रेम दिवस' र 'झट्का' रिलिज हुँँदैछन् । भारतमा प्रदर्शन भइसकेको अजय देवगन स्टारर फिल्म 'दे दे प्यार दे' पनि शुक्रवारबाट मल्टीप्लेक्सहरुमा रिलिज हुँदैछ । 
 
प्रदीप भट्टराई निर्देशित मल्टीस्टारर फिल्म ‘जात्रै जात्रा’ ले प्रदर्शनको चौथो हप्तासम्म साढे ६ करोडको आसपासमा व्यापार गरेको फिल्मीखबरलाई जानकारी प्राप्त छ । ‘वर्ड अफ माउथ’ बलियो भएका कारण यो फिल्म हलमा अझै केही हप्ता टिक्ने देखिन्छ । यस फिल्मले हलमा सफलतापूर्वक प्रदर्शनको ५१औं दिन पार गर्ने फिल्म पण्डितहरुको अनुमान छ । फिल्मको लाइफटाइम कलेक्सन ७ करोडको वरपर हुनसक्ने देखिन्छ । 
Most Visited News (monthly)