निर्माण अगावैदेखि दर्शकमाझ प्रतिक्षीत बनेको फिल्म ‘प्रेमगीत ३’ को दशैं लगत्तै छायांकन सुरु हुँदैछ । २ सय वर्ष पुरानो प्रेमकथामा आधारित भएर निर्माण हुन लागेको फिल्मलाई छेतेन गुरुङले निर्देशन गर्दैछन् । उनलाई निर्देशनमा ‘प्रेमगीत’ सिरिजका निर्माता सन्तोष सेनले सघाउनेछन् । फिल्मको कथा छेतेनको हो । ‘प्रेमगीत ३’ मा तेस्रो पटक पनि ‘प्रेम’ को भूमिका अभिनेता प्रदीप खड्काले निभाउँदैछन् ।
छायांकन सुरु नहुँदै आउँदो चैत २८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्मका लागि अहिले निर्माण टिम लिड अभिनेत्रीको खोजीमा छ । अर्थात् ‘गीत’ को । यस फिल्मको पहिलो पार्टमा अभिनेत्री पूजा शर्मा ‘गीत’ को भूमिकामा थिइन् । दोस्रो पार्टमा अभिनेत्री अश्लेषा ठकुरी ‘गीत’ बनिन् । अब, प्रदीपसँग रोमान्स गर्ने युवती अर्थात् ‘गीत’ को हुनेछिन् ? धेरैलाई चासोको विषय बनेको छ ।

केही हप्ता अगाडि निर्माण कम्पनी आशुसेन फिल्मस्ले ‘गीत’ को भूमिकाका लागि अडिसन आह्वान गरेको थियो । अनलाइनमार्फत् आवेदन दिएका २७ सयभन्दा बढी युवतीहरुमध्येबाट निर्माण कम्पनीले उत्कृष्ट २५ को ‘सर्टलिस्ट’ सार्वजनिक गरेर फाइनल अडिसन पनि लगभग सकिसकेको छ । असार १५ गतेसम्म फाइनल अडिसन दिएका २५ जनामध्ये उत्कृष्ट एकलाई ‘गीत’ को भूमिकामा छनोट गरिने निर्माता सेन बताउँछन् ।
फिल्मीखबरसँग फोनर्वार्तामा उनले भने- ‘फाइनल अडिसनका लागि छानिनुभएका २५ जनामध्ये ६ जना विदेशबाट हुनुहुन्थ्यो । अहिले उहाँहरुको अनलाइनबाट अडिसन भइरहेको छ । चार जनाको अडिसन भ्याइसकेका छौं । केही दिनमा फाइनल अडिसन पूरा हुनेछ ।’ उनले उत्कृष्ट २५ मा छनोट भएका युवतीहरुमध्ये ६ जना ‘गीत’ को भूमिकाका लागि योग्य रहेको पनि बताए । तर, निर्माता सेनले नाम खुलाउन चाहेनन् ।
उनी भन्छन्, ‘उत्कृष्ट २५ मा छनोट हुनुभएकाहरु मध्ये ६ जना ‘गीत’ को भूमिकाका लागि योग्य देखेका छौं । उहाँहरुको अभिनय क्षमता, लुक्स, उचाई, सुन्दरता ‘गीत’ क्यारेक्टरका लागि सुहाउँदो छ । प्रदीपसँग केमेस्ट्री पनि सुहाउँछ । अब, उहाँहरु मध्येबाटै एक जनालाई ‘गीत’ क्यारेक्टरमा छान्नेछौं ।’ ‘गीत’ को भूमिकाका लागि उत्कृष्ट २५ मा छानिएका युवतीहरुमा फिल्ममा अभिनय गरिसकेका अभिनेत्रीदेखि चलेका मोडलसम्म छन् ।

