
भाद्र १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मारुनी’ को डान्सिङ नम्बर ‘जाम्न माया जाम’ सार्वजनिक भएको छ । ‘मनमगन’ गायक दिपक बज्रचार्यको स्वर रहेको गीतको भिडियोमा फिल्मकी लिड अभिनेत्री साम्राज्ञी आरएल शाह र अभिनेता पुष्प खड्का फिचर्ड छन् । रिक्की शाक्यको शब्द रहेको गीतमा गायक बज्राचार्य स्वयंको संगीत छ । उनले एक दशकपछि फिल्मको गीत गाएका हुन् ।

मंगलवार राजधानीमा एक कार्यक्रमका बीच ‘जाम्न माया जाम’ गीत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा प्रविन सिंहको कोरियोग्राफीमा पुष्प र साम्राज्ञीले आकर्षक नृत्य प्रस्तुत गरेका छन् । यस गीतबाट पुष्पले आफूलाई राम्रो नृत्य गर्न आउने अभिनेताको रुपमा पनि चिनाएका छन् । पहिलो पटक डान्सिङ गीतमा कम्मर मर्काएकी साम्राज्ञीले यस गीतमा नृत्य गर्न निकै गाह्रो भएको बताइन् ।
.jpg)
उनी भन्छिन्, ‘मैले प्रायः रोमान्टिक गीतहरु गरिरहेको थिएँ । पहिलो पटक डान्सिङ गीत गरेकी हुन् । केही डान्स स्टेपहरु टिप्न मलाई निकै गाह्रो भएको थियो । यद्यपि, राम्रो दिने प्रयास भने गरेको छु ।’ अभिनेता पुष्पले भने आफूले अहिलेसम्म नगरेको तर गर्न मन लागेको डान्स स्टेपमा नृत्य प्रस्तुत गर्न पाउँदा खुसी महशुस भएको बताए । दुबैले फिल्ममा फरक भूमिका निभाएको पनि बताए ।
.jpg)
‘मारुनी’ लाई लिएर उत्साहित रहेका पुष्प र साम्राज्ञीले पहिलो पटक फिल्ममा काम गरेका हुन् । उनीहरु एकअर्कासँग काम गर्न सहज भएको पनि बताउँछन् । यसमा अभिनेत्री रेविका गुरुङको पनि प्रमुख भूमिका छ । नारी संवेदनामाथि फिल्म बनाउन सिपालु मानिने निर्देशक नवल नेपालले यस फिल्मलाई निर्देशन गरेका हुन् । यसअघि उनले फिल्म ‘मंगलम’ निर्देशन गरेका थिए ।

निर्देशक नेपाल भन्छन्, ‘हामीले दर्शकको मनछुने फिल्म बनाउने प्रयास गरेका छौं । राम्रा/नराम्रो दुबै प्रकारका प्रतिक्रिया सुन्न हामी तयार छौं । दर्शकलाई एउटा विश्वास चाहिँ के दिलाउन चाहन्छु भने फिल्मले निराश बनाउँदैन ।’ पुनम गौतमले निर्माण गरेको फिल्ममा सह-निर्मातामा राजा प्रधान, दर्शन केसी र मिना क्षेत्री छन् । गोविन्द फुँँयाल र निर्देशक नेपालले फिल्मको कथा लेखेका हुन् ।
गीत हेर्नुहोस् :-

