चकलेटी अभिनेताको रुपमा परिचित पल शाहको शहरिया युवापुस्तामा गजबको क्रेज छ । ५ सयभन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरेर लोभलाग्दो फ्यान फलोइंग बनाएका उनलाई भेट्रान निर्देशक विकासराज आचार्यले आफ्नो सुपरहिट फिल्म 'नाईं नभन्नू ल ४' बाट लिड रोलमा ब्रेक दिएका थिए । यसअघि केही मेकर्सले उनलाई लिएर फिल्म बनाउने घोषणा नगरेका थिएनन् । तर, कुनै बनेनन् ।
'नाईं नभन्नू ल ४' बाट उनले सुखद डेब्यू गरे । किनकि, फिल्मले बक्सअफिसमा लगानी सुरक्षित गर्न सफल भएको थियो । तर, पलको अभिनयको चर्चा भएन । दर्शक/समीक्षक दुबैले उनको अभिनयको आलोचना गरे । हुनत, निर्देशक आचार्यले उनलाई राम्रो अभिनय गर्न आउने कलाकारको रुपमा लिएका पनि थिएनन् । म्यूजिक भिडियोमा बनाएको क्रेजको फाइदा उठाउन उनले पललाई साइन गराएका थिए ।
डेब्यू फिल्म हिट भएपछि पललाई लिएर फिल्म बनाउन निर्माताबीच तानातान सुरु भएको थियो । तर, उनले दर्जन बढी फिल्म रिजेक्ट गरेर करिअरको दोस्रो फिल्मको रुपमा 'म यस्तो गीत गाउँछु' रोजे । यो फिल्म ब्लकबस्टर साबित भयो । तर, फेरि उनको अभिनयको चर्चा भएन । फिल्मको सफलताको श्रेय भने पाए । उनको तेस्रो फिल्म 'जोनी जेन्टलम्यान' भने बक्सअफिसमा टाँट पल्टियो । पोस्टरको पैसा समेत उठाएन ।
तेस्रो फिल्मको असफलताले नराम्रोसँग हच्किएका पल अभिनीत चौथो फिल्म 'शत्रु गते' ब्लकबस्टर साबित भयो । तर, फेरि उनको अभिनयको वाह-वाही भएन । न त उनले फिल्मको सफलताको श्रेय नै पाए । पाए त हरिवंश आचार्य र दीपकराज गिरीले । यो फिल्मले उनलाई एउटा कुरा सिकायो- 'हुलमुलका फिल्म गर्नु करिअरका लागि निको हुन्न ।' अनि, उनी सोलो हिरो मात्र हुने चक्करमा लागे ।
(1)(1).jpg)
'शत्रु गते' रिलिजको करीब ८ महिना उनले कुनै फिल्म साइन गरेनन् । फिल्मवृतमा उनलाई फिल्म नै अफर नभएको चर्चा समेत भयो । यसबीच, उनी केही हप्ताको अन्तरमा दुई फिल्ममा अनुबन्ध भए- 'हृदय भरी' र 'बीर विक्रम २' । 'हृदय भरी' को अहिले छायांकन चलिरहेको छ । भने, 'बीर विक्रम २' प्रदर्शनमा आइसकेको छ । यो फिल्मबाट करीब १४ महिनापछि उनी ठूलो पर्दामा फर्किएका हुन् ।
फिल्म रिलिजको संघारमा रहँदा उनले भनेका थिए, 'मैले 'शत्रु गते' रिलिजपछि लामो समय कुनै फिल्म साइन नगर्नुको पछाडि राम्रो टिम र राम्रो स्क्रिप्ट नपाएर हो । 'बीर विक्रम २' को स्क्रिप्ट राम्रो लाग्यो । मैले देखाउन नपाएको र गर्न चाहेको कुरा यसमा पाएँ । टिम पनि एकदमै राम्रो भेटेँ । यसैले फिल्म गर्न राजी भएँ ।' उनले यस फिल्ममा आफ्नो अभिनयमा निखारता पाउने र दर्शक/समीक्षकको गाली नखाने दावी समेत गरेका थिए ।
फिल्मबाट अभिनेता पल शाह कति सन्तुष्ट छन् ? त्यो उनी नै जान्दछन् । तर, उनको अभिनयले न फेरि दर्शक न त समीक्षकलाई नै सन्तुष्ट बनाउन सकेको छ । उनको अभिनयमा एक प्रतिशत पनि निखारता नदेखिएको समीक्षकहरुको टिप्पणी छ । हुनत, उनका लागि यो नौलो होइन । यसअघि पनि उनको अभिनयको प्रशंसा कहाँ भएको थियो र ! तर, अभिनयको प्रशंसा नभए पनि फिल्मले भने राम्रै पैसा छाप्थे । यसपटक यो पनि भएन ।
मल्टीप्लेक्सबाट प्रदर्शनको दुई हप्तामा नै उत्रिएको 'बीर विक्रम २' यस वर्षको फ्लप फिल्मको सूचीमा सुचिकृत भएको छ । तर, यसका निर्माता तथा निर्देशक मिलन चाम्स भने फिल्मले राम्रो व्यापार गरेको र दर्शकले निकै रुचाएको भन्दै आत्मरतीमा रमाइरहेका छन् । पल पनि यो फिल्म गर्ने आफ्नो निर्णय गलत नभएको भन्दै फुरुङ्ग छन् । अभिनेता आकाश श्रेष्ठले अन्तिम समयमा हात झिकेपछि यो फिल्म उनलाई अफर भएको थियो ।
यसमा कुनै शंका छैन कि, आकाशको भन्दा पलको स्टारडम बलियो छ । निर्देशक चाम्स पनि पललाई फिल्ममा साइन गराउँदा आफ्नो लगानी नेपालबाटै सुरक्षित हुनेमा खुसी थिए । तर, मिडिया र बजारमा चलेको पलको स्टारडमको चर्चा हलमा देखिएन । शनिवार धेरथोर देखियो । आइतवारबाट उनको स्टारडमको नाम-निशाना देखिएन । हुनत, फिल्म राम्रो भए कलाकारको स्टारडमले पनि काम गर्छ । फिल्म नै कमजोर छ भने जति नै ठूला स्टार भए पनि केही लाग्दैन ।
स्टारडमले फिल्म चल्ने भए प्रदीप खड्काको 'रोज' र 'लभ स्टेशन' चल्ने थिए । दर्शकबाट मेगास्टारको उपाधि पाएका अनमोल केसीको 'कृ' र 'क्याप्टेन' ले हलमा हावा खाँदैन थिए । बलिउडकै कुरा गर्ने हो भने पनि सलमान खानको 'रेस ३', शाहरुख खानको 'जीरो' र आमिर खानको 'ठग्स अफ हिन्दोस्तान' पत्तासाफ हुँदैन थिए । यसैले प्रायोजित प्रशंसामा रमाउनुभन्दा पलले राम्रो फिल्म छनोटमा ध्यान दिन अब अत्यन्त जरुरी छ ।

