Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

निश्चल फिल्म निर्देशनमा फर्किँदै, स्वस्तिमा हिरोइन?

फिल्मीखबर, काठमाण्डौ, 2019/06/11
गएको तीन वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘लुट २’ पछि युवा निर्देशक निश्चल बस्नेतले कुनै फिल्म निर्देशन गरेका छैनन् । यो फिल्मले बक्सअफिसमा राम्रो पैसा छापे पनि चर्को आलोचना खेप्नुपर्‍यो । ‘लुट’ को साख जोगाउन नसकेको टिप्पणी भएको थियो । उनी स्वयं पनि ‘लुट २’ मा आफूले गल्ती गरेको स्वीकार गर्छन् । उनी यस फिल्मबाट घैंटोमा घाम लागेको बताउँछन् । 
 
अब हतारमा फिल्म निर्देशन नगर्ने अठोट लिएका उनको व्यस्तता आजभोली अभिनयतर्फ बढी छ । लगालग फिल्म गरिरहेका छन् । उनी अभिनीत पछिल्लो फिल्म 'प्रसाद' हो । हालै उनले हेमराज विसी निर्देशित फिल्म 'घामड शेरे' को छायांकन पूरा गरे । यसमा उनले श्रीमती स्वस्तिमा खड्कासँग रोमान्स गरेका छन् । चाँडै उनी 'दुई रुपैयाँ' टिमको फिल्म 'डामाडोल' पनि गर्ने तयारीमा छन् । 
 
फिल्ममा अभिनयसँगै उनले म्यूजिक भिडियो पनि बाक्लै गरिरहेका छन् । 'परदेशी नभन', 'नाच फिलिलि' बोलको भिडियोमा निश्चलले मोडलिङ गरिसकेका छन् । फिल्मका गीतमा उनले नृत्य गर्न पनि छाडेका छैनन् । हाल प्रदर्शनरत फिल्म 'जात्रै जात्रा' को 'माया पिरिम', 'पर्व' को 'काले दाई', 'गरुड पुराण' को 'म त पिरिममा' बोलको गीतमा उनले कम्मर भाँचिसके । केही फिल्मका गीतमा उनले आफ्नो स्वर समेत दिइसकेका छन् । 
 
 
‘लुट’ रिलिजताका निर्देशक निश्चललाई नेपाली फिल्म क्षेत्र हाक्ने ड्राइभर भन्ने गरिन्थ्यो । नेपाली फिल्मलाई नयाँ दिशा दिनमा उनको ठूलो योगदान छ । तर, नेपाली फिल्म क्षेत्रले निकै आश गरेको निर्देशक अहिले फिल्म निर्देशनबाट दूरी बनाएर अभिनयतर्फ व्यस्त हुँदा धेरैले चिन्ता व्यक्त गरेका छन् । उनलाई फिल्म निर्देशनमा फर्किन दर्शक र फिल्मकर्मीबाट चर्को दबाब आइरहेका थियो/छ । तर, उनले तीन वर्ष कानमा तेल हालेर बसे । 
 
अब भने उनी फिल्म निर्देशनमा फर्किने भएका छन् । गोप्य स्रोतले फिल्मीखबरलाई दिएको जानकारी अनुसार, निर्देशक बस्नेत हाल एक फिल्मको तयारीमा छन् । फिल्मको नाम 'दिमाग खराब' रहने स्रोत बताउँछ । उनी 'टकलजंग भर्सेस टुल्के' पछि यो नाममा फिल्म बनाउने तयारीमा थिए । तर, चलचित्र विकास बोर्डमा दर्ता नै नगरि हतारमा फिल्म घोषणा गर्दा उनको हातबाट यो नाम उम्किएको थियो । 
 
करीब ४ वर्ष अगाडि चलचित्र विकास बोर्डमा कालिन्चोक डिजिटल नेपालको लागि आगद केसीले फिल्मको टाईटल दर्ता गराएका थिए । निर्देशन जनकदीप पराजुलीले गर्ने फाइनल भएको थियो । तर, यो फिल्म बन्न सकेन । बोर्डबाट इजाजत लिएको तीन वर्षसम्म पनि फिल्म नबने अर्को ब्यानरले सोही नाममा फिल्म बनाउन पाउने प्रावधान छ । हालै निश्चलले 'दिमाग खराब' आफ्नो ब्यानरमा दर्ता गराएको जानकारी प्राप्त छ । 
 
यसै वर्षबाट उनी यस फिल्मको छायांकन सुरु गर्ने तयारीमा छन् । केही महिनादेखि उनी फिल्मको फाइनल स्क्रिप्टमा काम गरिरहेका छन् । प्राप्त जानकारी अनुसार, फिल्ममा अभिनेत्री स्वस्तिमा खड्का लिड हिरोइनको रुपमा अनुबन्ध भइसकेकी छिन् । यद्यपि, यस विषयमा आधिकारिक जानकारी प्राप्त भएको छैन । अभिनेता  दयाहाङ राईको पनि फिल्ममा प्रमुख भूमिका रहने स्रोत बताउँछ । 
Most Visited News (monthly)