निर्माण अगावैदेखि चर्चामा रहेको नवल नेपाल निर्देशित फिल्म ‘मारुनी’ को पहिलो गीत ‘जाम्न माया जाम’ मंगलबार सार्वजनिक हुँदैछ । निर्माण टिमले केही दिन अघिदेखि गीतको काउनडाउन सुरु गरिसकेको छ । गीतमा ‘मनमगन’ गायक दिपक बज्रचार्यको स्वर छ । गायक बज्रचार्य ‘जाम्न माया जाम’ ले दर्शकलाई फेरि एकपटक नचाउने बताउँछन् ।



यो गीतको भिडियोमा फिल्मकी लिड अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता पुष्प खड्काले कम्मर मर्काएका छन् । उनीहरुलाई क्लबमा सय बढी कोरसले साथ दिएका छन् । उक्त गीतलाई दर्शकले रुचाउनेमा निर्माण टिम विश्वस्त छ । यस गीतले लोकप्रियता हासिल गरेको खण्डमा फिल्मको व्यापारमा पनि ठूलो फाइदा पुग्नेछ ।
गीतको भिडियोलाई प्रविण सिंहले कोरियोग्राफी गरेका हुन् । निर्मात्री पूनम गौतम गीत सार्वजनिक भएसँगै दर्शकको उत्साह फिल्मप्रति अझै बढ्ने बताउँछिन् । यसअघि उनले ‘अझै पनि’ नामक फिल्म निर्माण गरेकी थिइन् । ‘मारुनी’ ले दर्शकको मुटु छुने निर्देशक नेपालको भनाई छ । फिल्मलाई संजय लामाले खिचेका हुन् ।



भदौ १३ मा रिलिज हुने ‘मारुनी’ को बिषयमा निर्मात्री गौतम भन्छिन्, ‘हामीले यसपटक दर्शकको मुटुलाई छुने कथामा फिल्म बनाएका छौ । फिल्ममा थुप्रै ट्विस्ट छन् । दर्शकको मन छुन्छ ।’ अभिनेत्री साम्राज्ञी र अभिनेता पुष्पले ‘मारुनी’ लाई आफ्नो करिअरको महत्त्वकांक्षी फिल्म बताएका छन् । दुबै फिल्मलाई लिएर उत्साहित छन् ।

